
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा आज (शुक्रबार) सरदर स्थानकै आसपास रहेकाले अधिकांश भू–भागमा बदलीसँगै वर्षाको सम्भावना रहेको छ ।
हाल देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । कर्णाली प्रदेशका केही स्थान तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ । मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार शुक्रबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । हिमाली क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा केही स्थानमा वर्षाको सम्भावना छ ।
कोशी तथा मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । सुदूरपश्चिमको तराई क्षेत्रमा भने थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।
दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । कोशी, मधेश तथा लुम्बिनी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भू–भागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
यस्तै, कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षा हुन सक्नेछ । कोशी तथा मधेश प्रदेशका तराई क्षेत्रमा केही स्थान र बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिमका तराई क्षेत्रमा थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको छ ।
राति बागमती र गण्डकी प्रदेशका पहाडी भू–भाग तथा लुम्बिनी प्रदेशको तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।


















