
काठमाडौं । बाढी, पहिरो तथा सडकको अवस्थाका कारण बागमती र कर्णाली प्रदेशका विभिन्न जिल्लामा राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ ।
केही स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने कतिपय सडकखण्डमा एकतर्फी र समय तोकेर सवारी सञ्चालन भइरहेको छ । रसुवामा उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मेलुङ–स्याफ्रुबेँसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
नुवाकोटको शिवपुरी गाउँपालिकास्थित छहरेखोलामा टोखा–छहरे सडकखण्डमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । राति १० बजेदेखि बिहान ५ बजेसम्म अर्को सूचना जारी नभएसम्म सवारी साधन सञ्चालन गर्न नदिने व्यवस्था गरिएको छ ।
नुवाकोटकै बेत्रावती नगरपालिका–१० सिमटारमा पासाङल्हामु सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध छ । धादिङमा बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ । सोही गाउँपालिकाको वडा नम्बर १० ज्वाङखोलामा भने सडक एकतर्फी सञ्चालनमा रहेको छ ।
थाक्रे गाउँपालिका–२ बाहकिलोमा पनि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ । सोही क्षेत्रका अन्य केही स्थानमा भने सडक पूर्ण रूपमा अवरुद्ध रहेको छ ।
चितवनतर्फ बेनीघाट रोराङ गाउँपालिका–१० ज्वाङखोला क्षेत्रमा पनि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा रहेको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ घट्टेखोलामा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
काभ्रेमा सम्भावित बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गमा सवारी सञ्चालनको व्यवस्था गरिएको छ । खुर्कोट–नेपालथोक हुँदै काठमाडौं जाने सवारी साधनलाई सडकको अवस्था र परिस्थितिअनुसार सञ्चालन गरिने जनाइएको छ ।
यसैगरी, मुगुमा छायानाथ रारा नगरपालिका–४ ताल्चामा मुगु–मुगुम कार्मारोङ सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । बाढी र पहिरोका कारण सडक अवरुद्ध हुँदा यात्रु तथा मालवाहक सवारी साधन प्रभावित भएका छन् ।
प्रहरीले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको छ ।
यी हुन् प्रभावित भएका राजमार्ग


























