बाढीले बगाएको देवीघाट पुल पाँच दिनमै तयार

Share this
735shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २६, शुक्रबार ०८:२४

नुवाकोट। भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल बगायो। पुल बगेपछि दुई नगरबीचको आवागमन मात्रै प्रभावित भएन, नुवाकोट हुँदै धादिङ र रसुवागढी जोड्ने सडक सम्पर्कसमेत अवरुद्ध भयो।

बाढीबाट प्रभावित सर्वसाधारणको आवागमन सहज बनाउन सरकारले देवीघाटमा तत्काल एक्रोब्रिज निर्माण गर्ने योजना अघि बढायो। नेपाली सेनाले दिनरात काम गरेर पाँच दिनमै ५७.९ मिटर लामो एक्रोब्रिज तयार पारेको छ। बिहीबार बेलुकादेखि पुलबाट सबै प्रकारका सवारीसाधन सञ्चालनमा आएका छन्। पुल सञ्चालनमा आएपछि बाढीका कारण लामो र घुमाउरो बाटो प्रयोग गर्न बाध्य स्थानीयलाई आवागमनमा राहत मिलेको छ।

Advertisement

बेलकोटगढी नगरपालिका–८ जिलिङका सौगात पुडासैनीले छोटो समयमै पुल निर्माण भएपछि आफूहरूलाई ठूलो राहत मिलेको बताए। सोही वडाका ढुङ्गानेगाउँका मनोज तामाङले पनि पुल बनेपछि घर आउजाउ गर्न सहज भएको बताए।

नेपाली सेनाका रथी रञ्जित थापाका अनुसार ५५ जना प्राविधिक परिचालन गरी पुल निर्माण गरिएको हो। कार्यअवधि ७२ घण्टाभन्दा बढी नलागेको उनले बताए। देवीघाटमा भदौ २० गतेदेखि पुल निर्माण सुरु गरिएको थियो। नेपाली सेनाले प्राविधिक परीक्षणपछि पुल सञ्चालनमा ल्याएको हो।

विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठले छोटो समयमा पुल निर्माण भएपछि सर्वसाधारणको दैनिक जीवन सहज भएको बताए। पुल निर्माणमा नेपाली सेनाको १४ नं बाहिनी अड्डाअन्तर्गतको ब्रिजिङ युनिट परिचालन भएको थियो। सेनाले गजुरीमा भण्डारण गरेर राखेको रणनीतिक जगेडा पुल देवीघाट ल्याएर तादी खोलामा जडान गरेको हो।

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजना, विदुरका योजना प्रमुख कृष्णनाथ ओझाका अनुसार यसअघि रहेको ५५ मिटर लामो बक्स गर्डर पुल बाढीले भत्काएपछि त्यसैको संरचनामा एक्रोब्रिज जडान गर्न सहज भएको हो। उनका अनुसार रातमाटे क्षेत्रमा भइरहेको सडक कटिङको काम पनि शुक्रबारसम्म सम्पन्न गरी सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी छ।

नेपाली सेनाका प्रमुख सेनानी करुणबहादुर थापाका अनुसार अमेरिकी प्रविधिमा आधारित एक्रोब्रिजको भारवहन क्षमता ६० टन रहेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×