भोटेकोशी बाढीबाट सामाजिक क्षेत्रमा ६७ अर्ब ८७ करोडको क्षति

Share this
753shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २६, शुक्रबार ०८:४६

काठमाडौं । भोटेकोशी बाढीबाट सामाजिक क्षेत्रमा ६७ अर्ब ८७ करोड रुपैयाँ बराबरको क्षति भएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको ‘द्रुत क्षति र आवश्यकता मूल्याङ्कन (आरडिएनए) प्रतिवेदन’ अनुसार प्रभावित संरचनाको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि १ खर्ब ३ अर्ब ५४ करोड रुपैयाँ आवश्यक पर्ने देखिएको छ।

प्रतिवेदनअनुसार बाढीबाट ७ हजार ५७० निजी घर ध्वस्त भएका छन्। घर तथा घरमा रहेका सम्पत्तिसहित ६३ अर्ब ८८ करोड ४८ लाख रुपैयाँ बराबरको क्षति भएको छ। ती संरचनाको पुनर्निर्माणका लागि ९५ अर्ब ८२ करोड ७२ लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ। बाढीबाट ४८ वटा सार्वजनिक भवनमा पनि क्षति पुगेको छ। तीमध्ये ३५ पूर्ण र १३ आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। सार्वजनिक भवनको पुनर्निर्माणका लागि ४ अर्ब २३ करोड रुपैयाँ आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ।

Advertisement

त्यस्तै, १८ वटा विद्यालय प्रभावित भएका छन्। ११ पूर्ण र सात आंशिक रूपमा क्षतिग्रस्त विद्यालयको पुनरुत्थानका लागि २ अर्ब ३४ करोड रुपैयाँ आवश्यक पर्ने देखिएको छ। स्वास्थ्य सेवा प्रवाह हुने सात भवनमध्ये चार पूर्ण र तीन आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। स्वास्थ्य संरचनाको पुनर्निर्माणका लागि ७८ करोड रुपैयाँ आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ।

बाढीबाट ३० वटा सांस्कृतिक तथा धार्मिक सम्पदामा समेत क्षति पुगेको छ। ती सम्पदाको पुनर्निर्माण तथा संरक्षणका लागि ३६ करोड ५९ लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ।

प्रतिवेदनअनुसार सामाजिक क्षेत्रमा निजी घर तथा भवनको हिस्सा क्षतिमा सबैभन्दा बढी छ। यसबाहेक प्रहरी चौकी, सरकारी कार्यालय, स्वास्थ्य भवन, नेपाली सेनाका संरचना, कारागार, खेलकुद भवन र ज्येष्ठ नागरिक भवनलगायतका संरचनामा पनि क्षति पुगेको छ। आरडिएनए प्रतिवेदनले बाढी प्रभावित विभिन्न संरचनाको क्षति, पुनर्निर्माण तथा पुनःस्थापनाका लागि आवश्यक लागतको विस्तृत मूल्याङ्कन गरेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×