एमाले निर्वाचन समीक्षा कार्यदलको बैठक बस्दै

Share this
771shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २६, शुक्रबार १०:२३
बाढीपछि एमालेको आकस्मिक सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले) को ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदल’ को बैठक आज (शुक्रबार) बस्दैछ । एमाले सचिव तथा कार्यदल सदस्य राजन भट्टराईका अनुसार बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा महासचिव शंकर पोखरेलले तयार पारेको ‘पार्टी सुदृढीकरण, रूपान्तरण र पुनर्जागरण’ सम्बन्धी प्रतिवेदनलाई कार्यदल संयोजक एवं उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले पुनर्लेखनसहित पेस गर्ने तयारी छ ।

गत फागुन २१ गतेको निर्वाचनमा एमालेले व्यहोरेको पराजयपछि जेठ पहिलो साता बसेको केन्द्रीय सचिवालय बैठकले बादलको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो । विभिन्न प्रदेश र विभागबाट राय संकलन गरेपछि प्रतिवेदन लेखनको जिम्मा सदस्य सचिवसमेत रहेका महासचिव पोखरेललाई दिइएको थियो ।

Advertisement

पोखरेलले तयार पारेको प्रारम्भिक मस्यौदामा चुनावी पराजयको जिम्मेवारी नेतृत्वमाथि समेत उठाउँदै नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनको विषय अघि सारेपछि अध्यक्ष केपी शर्मा ओली असन्तुष्ट बनेको बताइएको छ । त्यसपछि बादलले नेतृत्वको प्रतिरक्षा हुने गरी प्रतिवेदन पुनर्लेखन गरेका हुन् ।

‘पार्टी सुदृढीकरण, रूपान्तरण र पुनर्जागरणका लागि नेकपा (एमाले) को साझा सङ्कल्प’ शीर्षक दिइएको पुनर्लिखित प्रतिवेदनमा पोखरेलको मस्यौदामाथि राजनीतिक र सैद्धान्तिक प्रश्न उठाइएको छ । प्रतिवेदनले मस्यौदा चुनावी समीक्षाभन्दा अध्यक्ष ओलीलाई पदबाट हटाउने र पार्टी नेतृत्व विस्थापन गर्ने उद्देश्यबाट प्रेरित भएको निष्कर्ष निकालेको छ ।

प्रतिवेदनमा फागुन २१ को निर्वाचन परिणामलाई तत्कालीन राजनीतिक परिस्थितिसँग जोडेर व्याख्या गरिएको छ । भदौ २३ र २४ गतेका हिंसात्मक घटना, संसद् विघटन, गैरदलीय सरकार गठन र तत्कालीन प्रधानमन्त्री ओलीलाई सेनाको नियन्त्रणमा राखिएको घटनालाई प्रतिवेदनले योजनाबद्ध षड्यन्त्रको हिस्सा भएको दाबी गरेको छ ।

यस्तो परिस्थितिमा भएको निर्वाचन पराजयका लागि पार्टी अध्यक्षलाई मात्रै जिम्मेवार ठहर्‍याउनु उचित नहुने प्रतिवेदनमा उल्लेख छ । बादलले प्रतिवेदनमार्फत ओलीको नेतृत्वको समेत प्रतिरक्षा गरेका छन् । संविधान जारी, भारतीय नाकाबन्दीविरुद्धको अडान, चीनसँगको पारवहन सम्झौता, नयाँ नक्सा प्रकाशन, भूकम्पपछिको पुनर्निर्माण तथा पूर्वाधार विकासमा ओलीको भूमिकालाई प्रतिवेदनमा उल्लेख गरिएको छ ।

एघारौँ राष्ट्रिय महाधिवेशनबाट करिब ७५ प्रतिशत मतसहित निर्वाचित अध्यक्षलाई एउटा निर्वाचनको पराजयका आधारमा हटाउनु जनादेशविपरीत हुने प्रतिवेदनको निष्कर्ष छ । विगतमा पुष्पलाल र मनमोहन अधिकारीलगायत नेताहरूले निर्वाचनमा पराजय व्यहोरे पनि नेतृत्वबाट विस्थापित नभएको उदाहरण दिँदै अहिले नेतृत्व परिवर्तनको बहसले पार्टीलाई थप कमजोर बनाउने दाबी गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×