अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधिनजिक

Share this
706shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २६, शुक्रबार १०:३७
अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधिनजिक

काठमाडौं । अन्नपूर्ण स्पाइकर किङ्स नेपाल भलिबल लिग (एनभीएल) को फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । लिगमा शीर्ष स्थानमा रहने टोली सोझै फाइनलमा पुग्ने प्रावधान छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा अन्नपूर्णले सगरमाथा स्म्यासर्सलाई ३–१ को सेटमा पराजित गर्‍यो । पहिलो सेटमा २१–२५ ले पछि परेको अन्नपूर्णले बाँकी सेटको नतिजा लगातार आफ्नो पक्षमा  पार्‍यो । अन्नपूर्णले दोस्रोमा २५–२३, तेस्रोमा २५–१४ र चौथोमा २५–२० को प्रदर्शन गर्दै जित सुनिश्चित गर्‍यो । अन्नपूर्णका एन्ख एर्डेन जार्गाल्ट्सगोट  ‘म्यान अफ द म्याच’ घोषित भए ।

Advertisement

छ टिम सहभागी लिगमा अन्नपूर्णको यो लगातार चौथो जित हो । पहिलो खेलमा अन्नपूर्ण कर्णाली शिवरजासँग ३–१ ले पराजित भएको थियो । अन्नपूर्णले दोस्रो खेलमा काठमाडौं रेड्सलाई ३–०, तेस्रोमा मधेस वारियर्सलाई ३–१ र खप्तड फाल्कन्सलाई ३–० ले हराएको थियो ।

सगरमाथा लगातार तेस्रो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ । अन्नपूर्णसँग पराजित हुनुअघि सगरमाथा कर्णालीसँग ३–२ तथा काठमाडौं रेड्ससँग ३–० ले चुकेको थियो । २ खेल जितेको सगरमाथाले मधेसलाई ३–१ र खप्तडलाई ३–० ले हराएको थियो ।

कर्णालीले मधेसलाई २५–२०, २५–२०, २१–२५ र २५–१९ ले पराजित गर्दै प्लेअफमा पुग्यो । ४ जित र १ हार व्यहोरेकाे कर्णालीले ११ अंक जोड्यो । कर्णालीका मार्की खेलाडी पहल गहतराज  ‘म्यान अफ द म्याच’ चुनिए ।
नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपद्वारा आयोजित प्रतियोगितामा ६ पुरुष टिम सहभागी छन् । सहभागी टिमले पहिले सिंगल राउन्ड रोविन लिगका आधारमा खेल्ने छन् ।

लिगमा शीर्ष स्थानमा रहने टोली फाइनलमा प्रवेश गर्ने छ । शीर्ष दुई र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्ने छन् । नेपाल भलिबल लिगको कुल पुरस्कार राशि ३२ लाख रुपैयाँ रहेको छ । यो पुरस्कार नेपाली भलिबलकै इतिहासमा हालसम्मकै सर्वाधिक हो । विजेताले २० लाख नगद पुरस्कार प्राप्त गर्ने छ । पुरुष भलिबलको फ्रेनचाइज लिग नेपालमै पहिलो पटक भएको हो । फाइनल भदौ २७ गते हुनेछ ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×