
काठमाडौं । मनसुनी वायुको प्रभाव देशभर कायमै रहँदा आज (शनिबार) पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थान आसपास रहेकाले देशभरको मौसम बदली हुने र वर्षा हुने क्रम जारी रहनेछ ।
हाल कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको महाशाखाले जनाएको छ ।
दिउँसो देशभर सामान्यतया बदली रहनेछ । हिमाली भू–भागका केही स्थानमा तथा पहाडी भू–भागका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ ।
महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भाग, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भाग तथा लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
राति पनि देशभर सामान्यतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ ।
तराईका थोरै स्थानमा समेत चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । रातको समयमा कोशी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ ।
भारी वर्षाको सम्भावना रहेका स्थानमा पहिरो, बाढी तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।



















