फाइल फाेटाेविराटनगर । विराटनगर महानगरपालिका–३ स्थित पोखरीया स्कुल नजिकै शनिबार बिहानका राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
कञ्चनबारीबाट भट्टा चोकतर्फ जाँदै गरेको को ५ प २१७० नम्बरको मोटरसाइकल बिहानका राति १ः५५ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आफैं अनियन्त्रित भएर मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक विराटनगर महानगरपालिका–९ बसपार्क बस्ने ४५ वर्षीय रविकुमार कामतको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले बताए । उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका कामतको उपचारका क्रममा कोशी अस्पतालमा बिहान २ः३० बजेतिर मृत्यु भएको हो ।
दुर्घटनाको कारण खुल्न सकेको छैन । मोटरसाइकल नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

























