
धनकुटा । धनकुटास्थित निसान मन्दिर परिसरमा रहेको विशाल ‘महाघण्टी’ धार्मिक पर्यटक तथा आगन्तुकको आकर्षणको केन्द्र बनेको छ। निसान मन्दिर पुग्ने मात्र होइन, धनकुटा आउने धेरै पर्यटकसमेत यहाँ पुगेर घण्टीसँग तस्बिर खिच्ने गरेका छन्।
सानासाना घण्टीलाई एउटै संरचनामा जोडेर बनाइएको महाघण्टीमा ५०० भन्दा बढी घण्टी समेटिएका छन्। यसको तौल १५० किलोभन्दा बढी रहेको निसान मन्दिर व्यवस्थापन समितिका सचिव जनार्दन घिमिरेले जानकारी दिए। निसान मन्दिर पुनर्निर्माणका क्रममा २०७७ सालमा महाघण्टी निर्माण गरिएको हो। मन्दिर परिसरमा रहेका साना घण्टीको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएपछि तिनलाई हटाउने तयारी गरिएको थियो। तर, त्यस क्रममा ऐतिहासिक महत्त्वका पुराना घण्टीसमेत नष्ट हुने अवस्था आएपछि संरक्षणका लागि महाघण्टी बनाइएको घिमिरेले बताए।
उनका अनुसार महाघण्टीमा १९३१ सालभन्दा अघिदेखिका घण्टीसमेत समेटिएका छन्। महाघण्टी निर्माणले पुराना घण्टीको संरक्षणसँगै मन्दिरको सौन्दर्य र छुट्टै पहिचानसमेत थपिएको उनले बताए। ‘साना घण्टीलाई एउटै संरचनामा जोडेर बनाइएको महाघण्टी अहिले निसान मन्दिरको छुट्टै पहिचान बनेको छ,’ घिमिरेले भने, ‘धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको मन्दिरमा आउने आगन्तुकका लागि यो फोटो खिच्ने आकर्षक गन्तव्यसमेत बनेको छ।’
धनकुटाको निसान मन्दिरको इतिहास पूर्व नेपालको प्रशासनिक तथा सैनिक इतिहाससँग जोडिएको छ। विसं १८४१ मा पूर्वको प्रशासनिक कार्यका लागि प्रसादसिंह बस्नेत धनकुटा आएका बेला जङ्गी निसानको स्थापना भएको इतिहास रहेको बताइन्छ। मन्दिरमा अहिले पनि नेपाली सेनाले दैनिक पूजाआजा गर्दै आएको छ। मन्दिरमा नेपाली सेनाकै एक पुजारी रहने व्यवस्था छ।
धार्मिक आस्थासँगै ऐतिहासिक महत्त्व बोकेको निसान मन्दिर परिसरमा बनेको महाघण्टीले पुराना घण्टीको संरक्षण गर्नुका साथै मन्दिरको सौन्दर्य र पर्यटकीय आकर्षणसमेत बढाएको छ।



















