अटो दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुग्यो

Share this
714shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २७, शनिबार ११:४०

विराटनगर । इलामको फाकफोकथुम गाउँपालिका–६ हाङ्मासुलीमा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ। दुर्घटनामा घाइते भएकी करिब ८ वर्षीया सुस्मिता श्रेष्ठ र उनकी आमा करिब २७ वर्षीया कविता श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको हो ।

शुक्रबार साँझ करिब ५ बजे मंगलबारेबाट हाङ्मासुलीतर्फ जाँदै गरेको मधेश प्र–०३–००३ ह ६९६७ नम्बरको अटो पोखरी–कमेरे सडकखण्डमा अनियन्त्रित भएर सडकबाट करिब २ मिटर तल खसेको थियो । दुर्घटनालगत्तै पेट्रोल लिकेज भएर अटोमा आगलागी भएको प्रहरीले जनाएको छ ।

Advertisement

आगलागीमा शरीरका विभिन्न भाग जलेर गम्भीर घाइते भएकी इलाम नगरपालिका–७ तिल्केनीकी सुस्मिताको भदौ २६ गते राति झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।  यस्तै, उनकी आमा कविता श्रेष्ठको पनि उपचारकै क्रममा भदौ २७ गते बिहान करिब ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव बी एन्ड सी अस्पतालमै राखिएको छ ।

दुर्घटनामा अटो चालक फाकफोकथुम–६ पोखरी बजारका करिब ३५ वर्षीय लोकबहादुर श्रेष्ठ पनि गम्भीर घाइते भएका छन् । उनको शरीरका विभिन्न भाग जलेको र बी एन्ड सी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा इलामको देउमाई नगरपालिका–४ मंगलबारेकी करिब २२ वर्षीया दुर्गादेवी श्रेष्ठ, झापाको कनकाई नगरपालिका–स्थित माइधारकी करिब ४० वर्षीया रमाकुमारी श्रेष्ठ र फाकफोकथुम–६ हाङ्मासुलीकी २७ वर्षीया मन्दिरा थापा पनि घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कच्ची सडकमा चालकले ध्यान नदिँदा अटो अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुमान छ । आगलागीबाट अटो पूर्णरूपमा क्षतिग्रस्त भएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×