प्याब्सनद्वारा विपद् राहत कोषमा १२ करोड सहयोग

Share this
689shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २७, शनिबार १२:५०

काठमाडौं। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले बाढी तथा अन्य विपद्बाट प्रभावित नागरिकको राहत र पुनःस्थापनाका लागि नेपाल सरकारको विपद् राहत कोषमा १२ करोड रुपैयाँ सहयोग गरेको छ। देशभरका ६ हजार ५ सयभन्दा बढी सदस्य विद्यालयबाट संकलित रकम प्याब्सनले सरकारलाई हस्तान्तरण गरेको हो।

प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्ण अधिकारीका अनुसार सदस्य विद्यालयहरूले आफ्नो नियमित खर्च र दायित्व व्यवस्थापन गर्दै उक्त रकम संकलन गरेका हुन्। विपद्का बेला राष्ट्रलाई सहयोग गर्ने उद्देश्यले रकम संकलन गरिएको उनले बताए।

Advertisement

संकलित रकमको विवरण पारदर्शी बनाइएको र सम्बन्धित जिल्लाबाट प्रदेश हुँदै केन्द्रमा पठाइएको अधिकारीले जानकारी दिए। सरकारसँगको सहकार्यमा सहयोग गर्ने विद्यालयलाई योगदानको कदरस्वरूप प्रमाणपत्र प्रदान गरिने प्याब्सनले जनाएको छ।

प्याब्सनका महासचिव आरबी कटुवालका अनुसार रसुवा र नुवाकोटमा बाढीबाट गम्भीर रूपमा प्रभावित पाँच सदस्य विद्यालयको पुनःस्थापना तथा पुनर्निर्माणका लागि २ करोड रुपैयाँ छुट्याइएको छ।

भदौ ३१ गते राति १२ बजेसम्म संकलन हुने थप रकममध्ये उक्त २ करोड रुपैयाँ कटाएर बाँकी सबै रकम सरकारको विपद् राहत कोषमा हस्तान्तरण गरिने कटुवालले बताए। प्याब्सनले निजी विद्यालयहरू शिक्षा प्रदान गर्ने संस्थामात्र नभई विपद्का बेला राष्ट्रसँगै उभिने जिम्मेवार साझेदार भएको जनाएको छ।

अध्यक्ष अधिकारीले देशभरका विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीको सहयोग राष्ट्रप्रतिको एकता र सामाजिक उत्तरदायित्वको प्रतीक भएको बताएका छन्। प्याब्सनले विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×