
काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको दायराबाट माथि उठाउँदै पर्यावरणीय सहकार्य, जलवायु सुरक्षा, प्रविधि, व्यापार र पूर्वाधार विकासमा आधारित रणनीतिक साझेदारीका रूपमा अघि बढाउनुपर्ने बताएका छन्।
काठमाडौँमा शनिबारदेखि सुरु भएको तेस्रो ‘काष्ठमण्डप संवाद’ अन्तर्गत ‘नेपाल–चीन सम्बन्ध : सहकार्यका विस्तारित आयाम’ विषयक कार्यक्रममा मुख्य वक्ताका रूपमा सम्बोधन गर्दै खनालले भोटेकोशीमा हालै आएको बाढीले नेपाल र चीनबीचको सीमा केवल राजनीतिक सीमारेखा नभई साझा पर्यावरणीय नियति जोड्ने क्षेत्र भएको देखाएको बताए।
गत २६ अगस्टको विनाशकारी बाढीमा ज्यान गुमाउनेहरूप्रति समवेदना व्यक्त गर्दै उनले विपद्का बेला चीन सरकारले उपलब्ध गराएको आकस्मिक तथा प्राविधिक सहयोगका लागि आभार व्यक्त गरे। ‘भूगोलले नेपाल र चीनबीच राजनीतिक सीमा मात्र कोर्दैन, यसले हाम्रो साझा नियतिलाई जोड्छ,’उनले भने।
खनालले जलवायु परिवर्तन र वातावरणीय जोखिम बढ्दै गएकाले नेपाल–चीन सहकार्यको आधार पर्यावरणीय उत्थानशीलता र जलवायु सुरक्षा हुनुपर्ने बताए। हिमताल विस्फोट, अनियमित मौसम र पहिरोजस्ता सीमापार प्रभाव पार्ने विपद् न्यूनीकरणका लागि रियल टाइम स्याटेलाइट तथ्यांक आदानप्रदान, संयुक्त मौसम पूर्वानुमान तथा प्रारम्भिक चेतावनी प्रणाली विकास गर्नुपर्ने उनको प्रस्ताव थियो।
नेपाल–चीन सम्बन्ध शताब्दीयौँ पुरानो सभ्यतागत आदानप्रदानमा आधारित रहेको उल्लेख गर्दै खनालले सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुई देशबीचको सम्बन्ध सार्वभौम समानता, पारस्परिक विश्वास र एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तमा आधारित रहेको बताए। नेपालको ‘एक चीन’ नीतिप्रतिको प्रतिबद्धता स्पष्ट रहेको र नेपाली भूमि छिमेकीविरुद्धका गतिविधिका लागि प्रयोग हुन नदिने प्रतिबद्धता पनि उनले दोहोर्याए।
नेपालको विदेश नीति ‘मध्यम मार्ग’बाट निर्देशित रहेको उल्लेख गर्दै खनालले नेपाललाई दुई ठूला आर्थिक शक्तिबीच सक्रिय, आत्मविश्वासी र सार्वभौम सेतुका रूपमा विकास गर्न चाहेको बताए। आर्थिक कूटनीतिअन्तर्गत ‘बाक्लो कनेक्टिभिटी र पातलो सीमा’को अवधारणालाई अघि बढाइएको र ट्रान्स–हिमालयन बहुआयामिक कनेक्टिभिटीका लागि उत्तरी नाकाको पूर्वाधार सुधार आवश्यक रहेको उनले बताए।
चीनले गरिबी न्यूनीकरण, ग्रामीण पुनरुत्थान, कृषि आधुनिकीकरण, हरित प्रविधि, रोबोटिक्स तथा कृत्रिम बुद्धिमत्तामा गरेको प्रगतिबाट नेपालले लाभ लिन सक्ने खनालको भनाइ थियो। नेपाली युवा, विद्यार्थी, अनुसन्धानकर्ता र उद्यमीलाई चिनियाँ प्रविधि तथा उद्योगसँग जोड्न संयुक्त नवप्रवर्तन प्रयोगशाला, इन्क्युबेसन केन्द्र र प्रविधि हस्तान्तरण कार्यक्रम अघि बढाउनुपर्ने उनले बताए।
नेपाल–चीन सम्बन्धको दीर्घकालीन आधार जनस्तरको सम्बन्ध भएको उल्लेख गर्दै उनले विद्यार्थी, अनुसन्धानकर्ता, उद्यमी, पर्यटक तथा तीर्थयात्रीबीचको आवागमन र आदानप्रदान विस्तार गर्नुपर्ने बताए। २६ अगस्टको विपद् नेपालका लागि गम्भीर परीक्षा भए पनि त्यसले नेपालको संकल्प कमजोर नबनाएको भन्दै खनालले क्षतिग्रस्त मार्गको पुनःस्थापना, जोखिमयुक्त पहाडी भूभागको सुदृढीकरण र उत्थानशील समुदाय निर्माणमा नेपाल प्रतिबद्ध रहेको बताए।



















