
काठमाडौं । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका ग्रामीण क्षेत्रमा कृषि तथा पशुपालनमा ठूलो क्षति पुर्याएको छ। संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) को प्रारम्भिक मूल्याङ्कनअनुसार बाढीले करिब १ हजार ८०० हेक्टर खेतीयोग्य जमिनमा क्षति पुर्याएको छ।
एफएओका अनुसार बाढीका कारण झन्डै ७ हजार ७०० मेट्रिक टन कृषि उत्पादन गुम्ने अनुमान छ। खेत माटो र गेग्रानले पुरिएका छन् भने माछापोखरी बगेका छन्। सडक, पुल र बजारमा पुगेको क्षतिका कारण खाद्यान्न, पशु आहारा, दूध तथा कृषि सामग्रीको आपूर्तिसमेत प्रभावित भएको छ। यसले किसान परिवारको खाद्य सुरक्षा र आम्दानीमा दीर्घकालीन असर पर्न सक्ने एफएओले जनाएको छ।
एफएओकी उपमहानिर्देशक बेथ बेचडोलले बाढीले घर तथा भौतिक संरचना मात्र नभई धेरै परिवारको खाद्य उत्पादन र आम्दानीको मुख्य आधारसमेत नष्ट गरेको बताइन्। उनका अनुसार एक हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने हजारौँ अझै बेपत्ता छन्।
बाढी प्रभावित क्षेत्र नेपालका महत्त्वपूर्ण पशुपालन क्षेत्रसमेत हुन्। प्रभावित ११ पालिकामा बाढीअघि करिब ३ लाख ५० हजार गाईभैँसी, भेडा र बाख्रा तथा १६ लाखभन्दा बढी कुखुरा रहेको एफएओले जनाएको छ। हजारौँ पशुपन्छी हराएका वा मरेका छन् भने कुल पशुधन र कुखुरामध्ये ५ देखि १० प्रतिशतसम्म पूर्ण रूपमा क्षति भएको हुन सक्ने प्रारम्भिक अनुमान छ।
‘किसान परिवारका लागि एउटा पशु गुमाउनु भनेको तत्कालको खाद्य स्रोत मात्र गुमाउनु होइन, भविष्यको आम्दानी र उत्पादनको आधारसमेत गुमाउनु हो,’ बेचडोलले भनिन्। एफएओका अनुसार प्रभावित किसानलाई तत्काल बीउबिजन, पशु आहारा र पशु स्वास्थ्य सेवा आवश्यक छ। बाढीपछि पशुमा रोग फैलिने जोखिम उच्च हुने भएकाले खोप, उपचार र रोग निगरानीलाई प्राथमिकता दिनुपर्ने बेचडोलले बताइन्।
नेपाल सरकारसँग सहकार्य गर्दै एफएओले बाली, पशुधन, मत्स्य क्षेत्र, खेतीयोग्य जमिन र कृषि पूर्वाधारमा भएको वास्तविक क्षतिको विस्तृत मूल्याङ्कन गरिरहेको छ। त्यसका लागि स्थलगत अध्ययनसँगै उपग्रह तथा रिमोट सेन्सिङ प्रविधिको समेत प्रयोग भइरहेको एफएओले जनाएको छ।



















