बेपत्ता छोराको १७ दिनसम्म खबर नआएपछि कुशको शव बनाएर अन्त्येष्टि

Share this
744shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २८, आइतबार ०९:१७

उदयपुर । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका आफन्तको १७ दिनसम्म कुनै खबर नआएपछि उदयपुरको एक परिवारले कुशको प्रतीकात्मक शव बनाएर अन्त्येष्टि गरेको छ । भोटेकोशी बाढीमा बेपत्ता त्रियुगा नगरपालिका–४ बगाहाका देवेन्द्र घिमिरेको शनिबार कुशको प्रतीकात्मक शव बनाएर अन्त्येष्टि गरिएको हो ।

देवेन्द्रका बुवा उद्धव घिमिरेले घटनास्थलमै पुगेर छोराको खोजी गरे पनि सास वा लास केही फेला पार्न नसकेपछि अन्तिम संस्कार गर्नुपरेको बताए । देवेन्द्र त्रिशूली–३ बी जलविद्युत आयोजनामा कार्यरत थिए । बाढी आएको दिन बिहान रातिको ड्युटी सकेपछि उनले घरपरिवारसँग फोनमा कुराकानी गरेका थिए । त्यसको करिब आधा घण्टापछि उनी सम्पर्कविहीन भएका थिए ।

Advertisement

१७ दिनसम्म खोजी गर्दा पनि कुनै खबर नआएपछि परिवारले अन्तिम संस्कार गरेको हो । देवेन्द्र बेपत्ता भएदेखि उनका बुवा, आमा, श्रीमती र दुई छोराछोरी चिन्तामा छन् । अन्त्येष्टि गरिसकेपछि पनि उनी जीवितै फर्किने आशा परिवारमा अझै बाँकी छ । ‘कतैबाट मेरो छोरा जिउँदै फर्किएर आउला कि?’ उद्धवले भने ।

भोटेकोशी बाढीमा उदयपुरका १६ जना अझै सम्पर्कविहीन छन् । उनीहरूका परिवार आफन्त जीवितै भेटिने आशामा छन् । उदयपुरका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीका अनुसार परिवारजनले २१ जना सम्पर्कविहीन भएको जानकारी गराएका थिए । तीमध्ये पाँच जना सम्पर्कमा आइसकेका छन् ।

सम्पर्कविहीनमध्ये तीनजना नेपाली सेना, चारजना हाइड्रोपावरमा कार्यरत तथा दुईजना चालक र सहचालक छन् । बाँकी ज्यालामजदुरी गर्ने व्यक्ति रहेको प्रशासनले जनाएको छ । उनीहरूको खोजी १७ दिनदेखि निरन्तर भइरहे पनि हालसम्म फेला पार्न सकिएको छैन ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×