
काठमाडौं । भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । विद्यालय भवन तथा शैक्षिक सम्पत्तिमा गरी ९३ करोड ७३ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा मूल्याङ्कन (आरडिएनए) प्रतिवेदनअनुसार १८ विद्यालयका ५६ वटा भवन प्रभावित भएका छन् । ती भवनका १५२ कोठामा आंशिक र १५६ कोठामा पूर्ण क्षति पुगेको छ ।
प्रतिवेदनअनुसार रसुवाको गोसाइँकुण्ड गाउँपालिकाको एउटा विद्यालयका दुई भवनका ११ कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । यसबाट ३ करोड ७५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । उत्तरगया गाउँपालिकाका तीन विद्यालयका ६ भवनका ३६ कोठा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा १२ करोड २९ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
नुवाकोटको विदुर नगरपालिकाका नौ विद्यालय प्रभावित भएका छन् । ३२ भवनमा क्षति पुगेकामा ६१ कोठामा आंशिक र ८९ कोठामा पूर्ण क्षति भएको छ । यहाँ ३६ करोड ६२ लाख रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।
धादिङको गल्छी गाउँपालिकाका तीन विद्यालयका १० भवनमा क्षति पुगेको छ । ती भवनका ७७ कोठामा आंशिक र आठ कोठामा पूर्ण क्षति हुँदा १० करोड ६१ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
बेनिघाट रोराङ गाउँपालिकाको एउटा विद्यालयका दुई भवनका १२ कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । उक्त विद्यालयमा ४ करोड १० लाख रुपैयाँ बराबरको क्षति भएको छ । सिद्धलेक गाउँपालिकाको एउटा विद्यालयका चार भवनका १४ कोठामा आंशिक क्षति पुगेको छ । त्यहाँ १ करोड ४३ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
प्रतिवेदनअनुसार विद्यालयमा रहेका शैक्षिक सम्पत्तिमा मात्रै २४ करोड ९३ लाख रुपैयाँ बराबरको क्षति भएको छ । विद्यालय क्षेत्रको पुनरुत्थानका लागि भने ४ अर्ब २३ करोड ३५ लाख रुपैयाँ आवश्यक पर्ने आकलन गरिएको छ ।



















