चन्द्र दर्शनसँगै मिथिलामा चौरचनको रौनक

Share this
731shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २९, सोमबार ०८:२७

जनकपुरधाम । मिथिलाञ्चलमा चन्द्रमाको पूजा आराधना गर्दै चौरचन पर्व मनाइँदैछ । भाद्र शुक्ल चतुर्थीका दिन मनाइने यो पर्वमा साँझ चन्द्रमा उदाएपछि फलफूल तथा विभिन्न परिकारसहित अर्घ्य दिने परम्परा छ ।

मधेश प्रदेशसहित मिथिला क्षेत्रका गाउँदेखि सहरसम्म बिहानैदेखि चौरचनको तयारी गरिएको छ । विशेषगरी महिलाहरू निराहार व्रत बसेर पर्वको तयारी गर्छन् । व्रतालुहरूले दिनभरि दही, खिर, पुरी, ठेकुवा, भुजियालगायतका परिकार तयार पार्छन् । नयाँ माटोका भाँडामा जमाइएको दहीलाई चौरचनमा विशेष महत्त्वका साथ प्रयोग गरिन्छ ।

Advertisement

साँझ घरको आँगन वा छतलाई गोबर र रातो माटोले लिपेर चामलको पिठोबाट अरिपन बनाउने चलन छ । अरिपनमा केरा, स्याउ, काँक्रो, नीम्बूजस्ता फलफूलसँगै विभिन्न पकवान सजाएर राखिन्छ । चन्द्रमा उदाएपछि व्रतालुहरूले हातमा फलफूल र पकवान लिएर अञ्जुलीबाट चन्द्रमालाई अर्घ्य अर्पण गर्छन् । पूजा सम्पन्न भएपछि मात्रै व्रतालु र परिवारका सदस्यले प्रसाद ग्रहण गर्ने परम्परा छ ।

गणेश चतुर्थीकै दिन पर्ने भए पनि मिथिलामा चौरचनका अवसरमा गणेशको भन्दा चन्द्रमाको प्रत्यक्ष पूजालाई बढी प्राथमिकता दिइन्छ । चन्द्रमालाई अर्घ्य दिने, अरिपन बनाउने र परम्परागत लोकगीत गाउने चलनले पर्वलाई मिथिलाको विशिष्ट सांस्कृतिक पहिचानसँग जोडेको छ ।

चौरचनसँग जोडिएको अर्को महत्वपूर्ण पक्ष चन्द्रदर्शनसम्बन्धी लोकविश्वास हो । भदौ शुक्ल चतुर्थीका दिन खाली हात चन्द्रमा हेर्दा कलंक लाग्न सक्ने विश्वास मिथिला समाजमा अझै प्रचलित छ । त्यसैले चन्द्रमा उदाउँदा हातमा फलफूल वा प्रसाद लिएर मात्रै दर्शन गर्ने चलन रहेको छ ।

चौरचनलाई मिथिलामा प्रकृति, परिवार र सामाजिक एकताको पर्वका रूपमा समेत लिइन्छ । साँझपख चन्द्रमालाई अर्घ्य दिने क्रममा गाउँ–घरदेखि सहरका छतसम्म देखिने सांस्कृतिक गतिविधि र लोकगीतले मिथिलाको मौलिक परम्परालाई जीवन्त बनाउने गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×