
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले हरितालिका तीजले सांस्कृतिक परम्पराको संरक्षणसँगै महिला अधिकार, समानता र सशक्तीकरणको अभियानलाई थप बलियो बनाउनुपर्ने बताएका छन् ।
तीजको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले सबैको साझा प्रयास र सहकार्यबाट महिलालाई पूर्ण रूपमा अधिकारसम्पन्न बनाउन सकिने उल्लेख गरे ।
कोशी प्रदेश तथा स्वदेश–विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै उनले तीजका मौलिक मूल्य–मान्यता र सांस्कृतिक पक्षको संरक्षण गर्नुपर्नेमा जोड दिए ।
तीजले मौलिक संस्कृति, सामाजिक सद्भाव, एकता र पारिवारिक सम्बन्धलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याउँदै आएको उनले बताए । भोटेकोशी बाढीबाट मुलुक शोकमा रहेको उल्लेख गर्दै उनले यसपटक तीज पर्व संयमित र सहयोगी भावनाका साथ मनाउन आग्रह गरे ।
संविधानले सुनिश्चित गरेको महिलाको समान सहभागिता र अधिकारलाई व्यवहारमै स्थापित गर्न सबैको साझा प्रयास आवश्यक रहेको पनि मुख्यमन्त्री कार्कीले बताए ।


























