इलामको पुवा खोलामा ७० मिटर लामो मोडुलर पुल तयार

Share this
749shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २९, सोमबार ०९:१५

इलाम । झापा–इलाम फास्ट ट्र्याकअन्तर्गत मेची करिडोरमा पर्ने इलामको पुवा खोलामा ७० मिटर लामो मोडुलर पुल निर्माण भएको छ। संघीय सरकारअन्तर्गत सडक डिभिजन इलामले ३ करोड रुपैयाँ लागतमा पुल निर्माण गरेको हो।

पुलको भारवहन क्षमता ३० टन रहेको सडक डिभिजनले जनाएको छ। पुल जडान सम्पन्न भएपछि शनिबार लोड टेस्ट गरिएको थियो। सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईका अनुसार परीक्षणबाट ३० टनसम्म भार भएका ढुवानी साधन आवतजावत गर्न सक्ने पुष्टि भएको छ।

Advertisement

लोड टेस्ट सफल भएपछि पुल सञ्चालनको तयारी अघि बढाइएको छ। पुलको एकतर्फको ब्याकवाल ढलान सम्पन्न भइसकेको छ भने अर्कोतर्फको काम भइरहेको छ। उक्त काम सकिएपछि केही दिनभित्रै पुलबाट सवारी आवागमन सञ्चालन गर्ने तयारी छ।

पुलको संरचनागत सुरक्षा र दीर्घकालीन स्थायित्वका लागि एक पटकमा एउटा मात्र सवारीसाधन पुलमा प्रवेश गराउने व्यवस्था गरिएको सडक डिभिजनले जनाएको छ।

मेची राजमार्गअन्तर्गत इलामको राजदुवाली खण्ड भासिएर पटक–पटक अवरुद्ध हुँदै आएपछि यो सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिँदै आएको छ। झापाबाट इलाम हुँदै पाँचथर र ताप्लेजुङ जोड्ने यो मार्गका अधिकांश खण्ड कच्ची छन् र कतिपय खोलामा पुल नहुँदा सवारीसाधन तथा ढुवानीका साधनले समस्या झेल्दै आएका छन्।

पुवा खोलामा पुल सञ्चालनमा आएपछि उक्त मार्ग हुँदै हुने आवागमन केही सहज हुने अपेक्षा गरिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×