
काठमाडौ । बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका अधिकांश नदी तथा खोलामा जलसतह बढ्ने पूर्वानुमान गरेको छ । महाशाखाले आज (सोमबार) जारी गरेको बाढी पूर्वानुमान बुलेटिनअनुसार आज बिहानसम्म कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीसहित कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल छ ।
आगामी तीन दिन कोशी र नारायणी जलाधारअन्तर्गत सप्तकोशी, तमोर, अरुण, दूधकोशी, तामाकोशी, सुनकोशी, देवघाटस्थित नारायणी, त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, सेती र कालीगण्डकी नदीमा जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान छ। महाकाली नदीमा पनि तीनै दिन जलसतह उल्लेख्य बढ्ने जनाइएको छ ।
कर्णाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती तथा बबई नदीमा भने तीनै दिन जलसतह सामान्य बढ्ने महाशाखाले जनाएको छ । आज सङ्खुवासभा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, गोरखा, तनहुँ, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, जाजरकोट, दैलेख, सुर्खेत, कालिकोट, हुम्ला, बझाङ र बाजुरालगायत जिल्लाका साना नदीमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने महाशाखाले जनाएको छ ।
भोलि सुदूरपश्चिम, लुम्बिनी र मधेस प्रदेशका केही साना नदीमा बहाव आकस्मिक बढ्न सक्ने तथा पर्सि कोशी र मधेस प्रदेशका केही साना नदीमा पनि बहाव आकस्मिक बढ्न सक्ने पूर्वानुमान गरिएको छ ।


























