
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बालबालिकाको सुरक्षित बालापन र उज्ज्वल भविष्य सुनिश्चित गर्न सरकार, परिवार, विद्यालय र समाजबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताएका छन् ।
राष्ट्रिय बाल दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले बालबालिकालाई उचित शिक्षा, असल संस्कार, सुरक्षित वातावरण र प्रतिभा प्रस्फुटन गर्ने अवसर प्रदान गर्नु सबैको साझा दायित्व भएको बताएका हुन् । यस वर्षको राष्ट्रिय बाल दिवसको मूल नारा ‘बालापनको रक्षाः भविष्यको सुरक्षा’ले बालबालिकाको वर्तमानलाई सुरक्षित र सुखी बनाउँदै उज्ज्वल भविष्य निर्माण गर्नुपर्ने महत्वपूर्ण लक्ष्य बोकेको उनले उल्लेख गरेका छन् । संघ, प्रदेश र स्थानीय तहको सहकार्यबाट बालबालिकाको अधिकार र हित संरक्षण गर्न सकिने उनको भनाइ छ ।
मुख्यमन्त्री कार्कीले बालबालिकामाथि हुने हिंसा, शोषण, दुर्व्यवहार, बेचबिखन तथा सबै प्रकारका विभेदको अन्त्य गर्दै शिक्षा, स्वास्थ्य, सुरक्षा, सहभागिता र समग्र विकास सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् । पछिल्लो समय भोटेकोशीमा आएको विपत्तिले बालबालिकालाई विपद्जन्य घटनाबाट सुरक्षित राख्दै उनीहरूलाई अघि बढाउनुपर्ने आवश्यकता थप स्पष्ट पारेको उनले बताएका छन् ।
विपद्का समयमा बालबालिकाको सुरक्षा र शिक्षालाई विशेष प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । त्यसैगरी, प्रविधिको तीव्र विकाससँगै बालबालिकाले ज्ञान र सिप विकासका लागि प्रविधिको प्रयोग गरिरहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले प्रविधिको दुरुपयोगबाट बालबालिकालाई जोगाउनुपर्ने बताएका छन् । प्रविधिको सही, सुरक्षित र सिर्जनात्मक सदुपयोगलाई प्रोत्साहन गर्दै बालबालिकालाई समयानुकूल ज्ञान र सिपसँग जोड्नुपर्ने उनले बताएका छन् ।
कोशी प्रदेश सरकारले स्थापना कालदेखि नै बालबालिकाको हित प्रवर्धन तथा बाल अधिकारको संरक्षण र संवर्धनका लागि काम गर्दै आएको मुख्यमन्त्री कार्कीले बताएका छन् । प्रदेशका बालबालिका तथा किशोरकिशोरीका लागि ‘म अघि बढ्छु’ जस्तो महत्वपूर्ण कार्यक्रम सञ्चालनमा ल्याइएको उनले स्मरण गराएका छन् ।
राष्ट्रिय बाल दिवसले प्रत्येक बालबालिकाको सुरक्षित बालापन, अधिकारको सुनिश्चितता र उज्ज्वल भविष्य निर्माण गर्ने साझा संकल्पलाई थप मजबुत बनाउने विश्वाससमेत मुख्यमन्त्री कार्कीले व्यक्त गरेका छन् ।




















