त्रिशूली किनारका बासिन्दामा फेरि बाढी आउने त्रास

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ३०, मंगलबार ०९:५०

चितवन । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली नदी किनारमा बसोबास गर्नेहरूमा फेरि बाढी आउने त्रास बढेको छ। कुनै पनि बेला त्रिशूलीमा पानीको बहाव बढेर क्षति पुर्‍याउन सक्ने चिन्ताले उनीहरू ढुक्क हुन सकेका छैनन्। इच्छाकामना गाउँपालिका–५, त्रिशूली किनारमा बस्दै आएकी सानी गौचन ४५ वर्षदेखि त्यहीँ छिन्। तर, भोटेकोशी बाढीपछि भने पानी पर्नासाथ डर लाग्न थालेको उनी बताउँछिन्।

‘बाढी देखेका थियौँ, तर यस्तो विनाशकारी बाढी देखेका थिएनौँ। त्यो दिन सम्झँदा अझै अत्यास लाग्छ। पानी पर्दासमेत फेरि घर छोड्नुपर्ने हो कि भन्ने डर लाग्छ,’ उनले भनिन्। मुग्लिन बजारमा ४५ वर्षदेखि आमा होटल सञ्चालन गर्दै आएकी कोपिला गौचन पनि वर्षात् सुरु भएपछि कामदारदेखि आफूहरूसम्मको सुरक्षालाई लिएर चिन्तित छिन्। भदौ १० गतेदेखि राम्रोसँग निदाउन नसकेको र फोन बज्दा पनि बाढीको सूचना आउने हो कि भन्ने डर लाग्ने उनी बताउँछिन्। खोला सुसाएको आवाजले समेत अहिले त्रास बढाउने गरेको उनको भनाइ छ।

Advertisement

स्याङ्जा स्थायी ठेगाना भएका र ३२ वर्षदेखि मुग्लिन आसपास व्यवसाय गर्दै आएका सेख अलाउदीन मियाँलाई पनि पानीको आवाज सुन्नासाथ आफ्ना सामान र परिवारको चिन्ता लाग्छ। नुवाकोटमा रहेकी छोरी सम्पर्कविहीन भएपछि आफूलाई पनि त्यस्तै अवस्था आउने हो कि भन्ने डर उनलाई छ। भदौ १० गतेको बाढीपछि रातमा राम्रोसँग निदाउन नसकेको उनले बताए।

त्रिशूलीमा र्‍याफ्टिङ गर्न आउनेहरूलाई खाना–खाजा खुवाउँदै आएका नारायण श्रेष्ठ पनि व्यवसायलाई निरन्तरता दिने कि छोड्ने भन्ने दोधारमा छन्। सँगै व्यवसाय गरेका केही साथीले ठाउँ छाडेपछि आफू पनि अन्योलमा परेको उनले बताए। पृथ्वी राजमार्गमा रहेको विनय गेस्ट हाउस तथा खाजा घरका सञ्चालक श्रेष्ठ वर्षात् सुरु भएपछि त्रास झनै बढ्ने बताउँछन्। बाढीपछि व्यवसायसँगै आफ्नो जीवनसमेत जोखिममा परेको उनको भनाइ छ। पृथ्वी राजमार्गअन्तर्गत त्रिशूली किनारमा रहेका यस्ता व्यवसायी र परिवार अहिले दिनरात त्रासमा छन्। फेरि ठूलो बाढी आएमा कसरी जोगिने भन्ने चिन्ताले उनीहरूलाई सताइरहेको छ।

रसुवा, नुवाकोट र धादिङ हुँदै बग्ने त्रिशूली चितवनको देवघाटमा कालीगण्डकीसँग मिसिएपछि नारायणी बन्छ। गहिरो नदीका दुवै किनारमा पुराना बस्ती र बजार क्षेत्र छन्। विगतमा पनि त्रिशूलीमा बाढी आउने गरेको भए पनि यस वर्ष भदौ १० गते आएको ठूलो बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति पुर्‍यायो। प्रत्यक्ष क्षति नभएका नदी किनारका बस्ती र बजारका बासिन्दामा भने त्यसयता पनि बाढीको त्रास कायमै छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×