प्रतीकात्मक तस्बिरइलाम । इलामको माङसेबुङ गाउँपालिका–३ भञ्ज्याङमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको पूर्ण कदको सालिक निर्माण सुरु भएको छ। गाउँपालिकाले प्रस्तावित धार्मिक तथा सांस्कृतिक क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजनाअन्तर्गत उद्यानसहितको सालिक निर्माण थालेको हो।
निर्माणाधीन सालिक २५ फिट अग्लो र आठ फिट चौडाइको हुने माङसेबुङ गाउँपालिकाले जनाएको छ। निर्माण समिति अध्यक्ष राजेन्द्र खजुमका अनुसार तीन रोपनी दुई आना क्षेत्रफलमा सालिकसँगै उद्यान तथा अन्य पर्यटकीय पूर्वाधार निर्माण गरिनेछ।
उनका अनुसार परिसरमा फाल्गुनन्दको पूर्ण कदको मुख्य सालिकसँगै वरिपरि आठ वटा साना सालिक राखिनेछन्। पर्यटकका लागि आराम गर्ने स्थान, काठेपिङ तथा च्याब्रुङ, साकेलालगायत सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्ने संरचनासमेत निर्माण गर्ने योजना छ। खजुमले निर्माणाधीन सालिक विश्वमा फाल्गुनन्दका नाममा निर्माण भएकामध्ये अहिलेसम्मकै अग्लो र ठूलो हुने दाबी गरे। ‘विशाल सालिकसँगै वरिपरि आठ वटा साना सालिक राखेर परिसरलाई थप आकर्षक बनाइनेछ,’ उनले भने।
सालिक निर्माणका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ मा ३६ लाख रुपैयाँ विनियोजन गरेको छ। यसअघि आर्थिक वर्ष २०८२/८३ मा २५ लाख रुपैयाँ विनियोजन गरिएको थियो। उक्त बजेटबाट सालिक राख्ने स्थान व्यवस्थापन, पार्क निर्माण तथा आधार तयार गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिका अध्यक्ष हेमन्त राईका अनुसार किरात धर्म, भाषा, संस्कार, संस्कृति र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धनसँगै माङसेबुङलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रमुख गन्तव्य बनाउने उद्देश्यले योजना अघि बढाइएको हो।
‘माङसेबुङ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्मस्थल हो। पछिल्लो समय यो क्षेत्र वर्तमान किरात धर्मगुरु आत्मानन्द लिङ्देनको कर्मभूमिसमेत हो,’ राईले भने, ‘यस क्षेत्रलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रमुख गन्तव्य बनाउने योजनाका साथ काम गरिरहेका छौँ।’

फाल्गुनन्दको सालिक निर्माण हुने भएपछि स्थानीयवासी पनि उत्साहित भएका छन्। स्थानीय किसन सुब्बाले पार्कसहितको सालिकले माङसेबुङसँगै कोशी प्रदेशको धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए। दमक–चिसोपानी सडक निर्माण पूरा भएपछि यहाँको आवतजावत थप सहज हुने उनको भनाइ छ।
फाल्गुनन्दलाई किरात धर्मावलम्बीले महागुरु तथा किरात धर्मदर्शनका प्रवर्तकका रूपमा मान्ने गर्छन्। उनको जन्म विसं १९४२ कात्तिक २५ गते माङसेबुङ गाउँपालिका–२ इभाङको चुक्चीनाम्बामा भएको थियो। भाषा, लिपि, संस्कार, संस्कृति तथा किरात समाज सुधारका लागि फाल्गुनन्दले विसं १९८८ वैशाख १४ गते सातबुँदे ‘सत्यधर्म मुचुल्का’ जारी गरेका थिए। उनको निधन विसं २००५ चैत २० गते पाँचथरको लब्रेकुटीमा भएको थियो।
किरात समुदायको धार्मिक, सामाजिक तथा सांस्कृतिक जागरणमा पुर्याएको योगदानको कदर गर्दै नेपाल सरकारले विसं २०६६ मङ्सिर १६ गते फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो। माङसेबुङलाई किरात धर्मावलम्बीको प्रमुख तीर्थस्थलका रूपमा समेत लिइन्छ।



















