
झापा । झापाको बिर्तामोडमा जेनजी आन्दोलनका घाइतेहरूले विभिन्न माग राख्दै आमरण अनशन सुरु गरेका छन् । आन्दोलनका क्रममा पेटमा गोली लागेका अर्जुनधारा नगरपालिका–६ का विवेक दनुवारले घाइतेहरूको माग सम्बोधन गर्नुपर्ने भन्दै आमरण अनशन थालेका हुन् ।
दनुवारको अनशनमा ऐक्यबद्धता जनाउँदै आन्दोलनका अन्य घाइतेहरू पनि सहभागी भएका छन् । उनीहरूले घाइतेहरूको निःशुल्क तथा गुणस्तरीय उपचारको व्यवस्था गर्नुपर्ने र हालसम्म उपचारमा भएको खर्च राज्यले व्यहोर्नुपर्ने माग गरेका छन् ।
त्यस्तै, घाइतेहरूलाई उचित क्षतिपूर्ति र दीर्घकालीन जीवनयापनको व्यवस्था गर्नुपर्ने, घाइते तथा उनीहरूका परिवार र सहिद परिवारका सदस्यलाई निःशुल्क शिक्षा उपलब्ध गराउनुपर्ने माग उनीहरूको छ ।
अनशनकारीहरूले सार्वजनिक यातायातमा घाइतेहरूलाई विशेष छुटको व्यवस्था गर्नुपर्ने तथा घाइते र सहिद परिवारका माग सम्बोधन गर्न विशेष कानुन निर्माण गर्नुपर्ने पनि माग गरेका छन् ।
जेनजी आन्दोलनलाई कुनै दललाई बहुमतको सरकार बनाउनका लागि मात्र प्रयोग गरिएको जस्तो देखिएको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।
उनीहरूका अनुसार झापामा जेनजी आन्दोलनका क्रममा १०० जनाभन्दा बढी घाइते भएका छन् । तर हालसम्म ४३ जनाले मात्रै घाइते परिचयपत्र पाएका छन् । घाइते सबैलाई राज्यले पहिचान गरी उपचार, क्षतिपूर्ति र दीर्घकालीन पुनः स्थापनाको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ ।

























