
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सरकारले निलम्बन फुकुवाका लागि ठोस पहल नगरे सोमबारदेखि फिफाको निर्देशनअनुसार आफ्ना गतिविधि अघि बढाउने जनाएको छ । एन्फाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्द्रमान तुलाधरले पत्रकार सम्मेलनमा एकेडेमीमा रहेका खेलाडीहरूको भविष्य जोखिममा परेको भन्दै सरकारले तत्काल पहल गर्नुपर्ने बताएका हुन् ।
‘भोलिसम्म सरकारबाट सकारात्मक कुरा आयो भने साफमा सहभागिता जनाउन पनि पाउँछौँ होला । अन्यथा समस्या विकराल बन्दै गएकाले सोमबारदेखि हामी फिफाको निर्देशनअनुसार गतिविधि सुरु गर्छौं,’ तुलाधरले भने ।
उनले एन्फा एकेडेमीमा रहेका बाल खेलाडीहरूको पढाइ, आवास र खानासम्बन्धी समस्या बढ्दै गएको बताए । ‘एकेडेमीमा रहेका बच्चाहरूको पढाइ र खानाको समस्या भइरहेको छ । खाना नै नदिइकन राख्ने कुरा पनि भएन,’ उनले भने ।
तुलाधरका अनुसार सरकारले निलम्बन फुकुवाका लागि गर्ने जुनसुकै पहलमा एन्फाले पूर्ण साथ दिनेछ । तर, त्यसमा कुनै प्रगति नभए फिफाको नियमअनुसार फुटबलका दैनिक गतिविधि अघि बढाइने उनले स्पष्ट पारे ।
‘सरकारले गर्ने पहलमा हाम्रो पनि साथ रहनेछ । केही पहल भएन भने फिफाको नियमअनुसार दैनिक गतिविधि अगाडि बढाउँछौँ,’ उनले भने । तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले गत असारमा एन्फालाई निलम्बन गरेपछि नेपाली फुटबल अन्तर्राष्ट्रिय गतिविधिबाट बाहिर छ ।



















