
काठमाडौं। पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले गत भदौ १० गते आएको भोटेकोशी बाढीबाट सार्वजनिक यातायात क्षेत्रमा भएको भौतिक तथा मानवीय क्षतिको विवरण माग गरेको छ।
भदौ २६ गते पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको अध्यक्षतामा यातायात व्यवसायी तथा सरोकारवालाको उपस्थितिमा बसेको बैठकको निर्णयअनुसार विभागले क्षतिको विवरण माग गरेको हो।
भोटेकोशी बाढीका कारण सिर्जित असामान्य तथा प्रतिकूल अवस्थाबाट सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन गर्न समिति गठन गरिएको छ। समितिले क्षतिको मूल्याङ्कनसँगै क्षतिपूर्तिको आधार तथा अन्य सम्बन्धित विषयमा राय–सुझावसहितको प्रतिवेदन पेस गर्नेछ।
क्षति मूल्याङ्कन समितिले भदौ ३१ गते गरेको निर्णयअनुसार सरकारी निकाय, गैरसरकारी संस्था, सञ्चारमाध्यम, निजी संघसंस्था, अनुसन्धानकर्ता, सरोकारवाला निकाय तथा आम नागरिकसँग विपद्बाट भएको क्षतिको विवरण माग गरिएको हो।
समितिले सम्बन्धित सबै पक्षलाई सात दिनभित्र क्षतिको विवरण उपलब्ध गराउन आग्रह गरेको छ। विवरण विभागको इमेल [email protected] मार्फत पठाउन सकिनेछ भने लिखित विवरण विभागको योजना शाखामा समेत बुझाउन सकिने व्यवस्था गरिएको छ।
संस्थाको हकमा संस्थाको पहिचान खुलाउनुका साथै सम्भव भएसम्म उपलब्ध तथ्याङ्कको स्रोतसमेत खुलाउन समितिले आग्रह गरेको छ।

























