
विराटनगर । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको सदरमुकाम खाँदबारी–तुम्लिङटार–सभा खोला सडक खण्ड दैनिक ९ घण्टा बन्द गरिएको छ । सडक मर्मत तथा स्तरोन्नतिसँगै कालोपत्रे सडक चौडा गर्ने कामका लागि यातायात सञ्चालनमा रोक लगाइएको हो ।
सडक डिभिजन कार्यालय तुम्लिङटारका निमित्त प्रमुख इन्जिनियर मनोजकुमार मण्डलका अनुसार खाँदबारीदेखि सभा खोलासम्मको करिब १७ किलोमिटर सडक खण्डमा असोज ६ गतेदेखि असोज ३० गतेसम्म सडक निर्माणको काम सञ्चालन हुनेछ ।
निर्माण कार्यलाई समयमै सम्पन्न गर्न बिहान ८ बजेदेखि १२ बजेसम्म र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म गरी दैनिक ९ घण्टा यातायात सञ्चालनमा रोक लगाइएको मण्डलले बताए ।
कार्यालयका अनुसार बिहान १२ बजेदेखि १ बजेसम्म तथा साँझ ६ बजेदेखि राति ८ बजेसम्म भने सवारीसाधन सञ्चालन गर्न दिइने छ । निर्माण कम्पनीको आग्रहमा सडक डिभिजन कार्यालयले कामलाई तीव्रता दिन निश्चित समयका लागि यातायात बन्द गर्ने निर्णय गरेको जनाएको छ ।
निर्माण कम्पनी श्री डीएस बिल्डर्स–सुपर लाइक जेभीका खाँदबारी–३ का मिगुर शेर्पाले सडक बन्द गरेर मर्मत तथा चौडा गर्ने काम भइरहेको बताए । उनका अनुसार निषेधित समयमा अत्यावश्यक तथा अन्य सवारीसाधनले उपलब्ध वैकल्पिक सडक प्रयोग गर्न सक्नेछन् ।
सडक मर्मत तथा स्तरोन्नतिको कामका कारण केही समय यात्रुलाई असहज भए पनि निर्माण सम्पन्न भएपछि खाँदबारी–सभा खोला सडक खण्ड थप सुरक्षित र सहज हुने अपेक्षा गरिएको छ ।



















