
काठमाडौं । संसद् बैठकमा सांसदहरूको उपस्थिति घट्न थालेपछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदलाई बैठकको सुरुदेखि अन्तिमसम्म अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ।
रास्वपा संसदीय दलका मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले बिहीबार सूचना जारी गर्दै संसद्को छलफललाई प्रभावकारी बनाउन समूहगत रूपमा न्यूनतम उपस्थिति तालिका निर्धारण गरिएको जानकारी दिएका हुन्।
तालिकाअनुसार असोज ८ गते समूह ३, ४ र १ का सांसद अनिवार्य उपस्थित हुनुपर्नेछ। असोज १२ गते समूह १ र २, असोज १३ गते समूह २ र ३, असोज १४ गते समूह ३ र ४, असोज १५ गते समूह ४ र १ तथा असोज १६ गते समूह १ र २ का सांसदको अनिवार्य उपस्थिति तोकिएको छ।
मुख्य सचेतक बुर्लाकोटीले नियमित र पूर्ण उपस्थिति सधैँ अपेक्षित रहेको उल्लेख गर्दै व्यावहारिक परिस्थितिलाई ध्यानमा राखेर न्यूनतम उपस्थिति तालिका बनाइएको बताएका छन्।
रास्वपाले तोकिएको समूहमा नपर्ने सांसद संसद् आउन आवश्यक छैन भन्ने अर्थ नलाग्ने पनि स्पष्ट पारेको छ। विशेष अवस्था बाहेक संसद् बैठक सबै सांसदका लागि बाध्यकारी हुने भन्दै बैठक अवधिमा छलफल प्रभावित नहुने गरी खाजा खाने समयसमेत आलोपालो मिलाउन निर्देशन दिइएको छ।
त्यस्तै, कुनै प्रस्ताव वा विधेयक निर्णयार्थ सदनमा पेस हुने समयमा अनिवार्य तोकिएका सबै सदस्य उपस्थित हुनुपर्ने रास्वपा संसदीय दलले जनाएको छ।

























