वर्षाले रोक्यो कांग्रेसको क्षेत्रीय अधिवेशन, असोज १३ भित्र सक्न निर्देशन

Share this
660shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ९, शुक्रबार १३:५०

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत शनिबार देशभर सञ्चालन गर्ने भनिएका प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमध्ये वर्षाका कारण केही जिल्लाका कार्यक्रम स्थगित भएका छन् ।

अविरल वर्षाका कारण आवतजावत तथा निर्वाचनका लागि आवश्यक वातावरण प्रभावित भएपछि ओखलढुंगा, भोजपुर, रामेछाप, काभ्रेपलाञ्चोक र कास्कीमा क्षेत्रीय अधिवेशनका कार्यक्रम रोकिएका हुन् । केही जिल्लामा बाँकी रहेका पालिका अधिवेशनसमेत मौसमका कारण प्रभावित भएका छन् ।

Advertisement

ओखलढुंगामा जिल्ला निर्वाचन अधिकृत कृष्णप्रसाद दाहालले शनिबारका लागि तोकिएको प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको जानकारी दिएका छन् । नयाँ मिति र आगामी निर्वाचन कार्यक्रमका बारेमा पछि निर्णय गरिने जनाइएको छ ।

भोजपुरमा पनि जिल्ला निर्वाचन अधिकृत तिलक पाण्डेले भोजपुर नगरपालिकाको अधिवेशनसँगै प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेका छन् ।

रामेछापमा भने शनिबारका लागि निर्धारित अधिवेशन वर्षाका कारण स्थगित भए पनि नयाँ तालिका तय गरिएको छ । निर्वाचन अधिकृत रौनिकराज अर्यालका अनुसार असोज १२ गते बिहान ७ बजेदेखि क्षेत्रीय अधिवेशन सञ्चालन गरिनेछ ।

काभ्रेपलाञ्चोक–२ मा अविरल वर्षाका कारण प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन स्थगित गरिएको क्षेत्रीय सभापति महेश खरेलले बताएका छन् । उनका अनुसार नयाँ मिति अर्को सूचना जारी गरेर सार्वजनिक गरिनेछ ।

कास्कीमा पनि क्षेत्रीय अधिवेशन स्थगित गरिएको छ । जिल्ला निर्वाचन अधिकृत निरञ्जन राजभण्डारीले केन्द्रीय निर्वाचन समितिको निर्देशनअनुसार अधिवेशन स्थगित गरिएको जानकारी दिएका छन् । उनका अनुसार कास्कीमा असोज १२ गतेदेखि प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सुरु हुनेछ ।

केन्द्रीय निर्वाचन समितिले शुक्रबार नै मौसमको अवस्था हेरेर क्षेत्रीय अधिवेशन सञ्चालन गर्न जिल्ला निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको थियो । मौसम अनुकूल रहेका स्थानमा भने तोकिएकै मितिमा निर्वाचन गर्न र प्रतिकूल मौसम भएका क्षेत्रमा असोज १३ गतेभित्र अधिवेशन सम्पन्न हुने गरी आवश्यक व्यवस्था मिलाउन समितिले भनेको छ ।

कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत असोज ३ गतेदेखि वडा अधिवेशन सुरु भएको थियो । निर्वाचन समितिका अनुसार पालिका अधिवेशनतर्फ ६६ जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न भइसकेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×