
विराटनगर । भोटेकोशीको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएकी ऋचा निरौलाले लोकसेवा आयोगको परीक्षा पास गरेकी छन् ।
विराटनगर महानगरपालिका–३ की २४ वर्षीया ऋचा निरौलाले लोकसेवा आयोगको बिहीबार सार्वजनिक गरेको नतिजामा सब–इन्जिनियर पदमा नाम निकालेकी हुन् । लोकसेवा लिखित परीक्षाको नतिजामा उनको नाम क्रम संख्या १२ मा छ ।
छोरीले लोकसेवा पास गरे पनि परिवारमा खुसी छैन । किनकी भदौ १० मा भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएकी उनको अवस्था अझै अज्ञात छ । अपर त्रिशूली १ (२१६ मेगावाट) जलविद्युत् आयोजनामा कार्यरत थिइन् । उनले त्यहाँ काम सुरु गरेको ६ महिना मात्रै भएको थियो ।
उनको अवस्थाबारे कुनै पनि सरकारी निकायले जवाफ दिन सकेको छैन । मोबाइल लोकेसन ट्र्याक उत्तरगया गाउँपालिका–१ स्थित तिरु आधारभूत विद्यालय आसपाससम्म पुगेको देखिएको छ । त्यसपछि उनको फोन अफ छ । मोरङको पथरीशनिश्चरे–७ स्थायी घर भएकी ऋचाको परिवार हाल विराटनगर–३ मा बस्दै आएका छन् ।
बुबा लीलाप्रसाद निरौलाका अनुसार ऋचाले पहिलो पटक लोकसेवा आयोगको परीक्षा लेखेकी थिइन् । पहिलो पटक लेखेको परीक्षामा पास भए पनि उनको परिवारमा खुसी छैन । बेपत्ता छोरीको खबरको पर्खाइमा रहेको परिवारलाई लोकसेवाको नतिजाले कुनै खुसी दिएको छैन ।
लीलाप्रसादकी तीन सन्तानमध्ये कान्छी छोरी ऋचा ६ महिनाअघि मात्रै अपर त्रिशूली १ मा काम गर्न गएकी थिइन् । बाढीपछि सम्पर्कविहीन छोरीको अवस्था अझै अज्ञात रहेको बुबा लीलाले बताए । सम्पर्कविहीन छोरीको अवस्था राज्यले सार्वजनिक नगर्दा लीलाको परिवार तनावमा छन् ।

























