
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो १५ औं महाधिवेशनमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई सहभागी गराउने तयारी गरेको छ ।
महाधिवेशनको उद्घाटन समारोहमा उपस्थितिका लागि कांग्रेसले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निमन्त्रणा दिएको हो । कांग्रेस सहमहामन्त्री उदयशम्शेर राणाले तीनै नेतासँग छुट्टाछुट्टै भेट गर्दै महाधिवेशनमा सहभागी हुन निमन्त्रणा हस्तान्तरण गरेका छन् ।
कांग्रेसको १५ औं महाधिवेशन असोज १६ गतेदेखि काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका प्रतिनिधिका साथै कांग्रेसका नेता कार्यकर्ता, शुभेच्छुक र आम नागरिकको सहभागिता रहने कांग्रेसले जनाएको छ ।
सहमहामन्त्री राणाले उद्घाटन समारोहमा सहभागी हुन राजनीतिक दलका प्रतिनिधि, पार्टीका नेता कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणलाई आग्रह गरेका छन् ।

























