
सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा सहभागी भएका एक वृद्ध लखन्देही खोलामा डुबेर बेपत्ता भएका छन्।
गोडैता नगरपालिका–१ बहादुरपुरका ७० वर्षीय छित्नु साह सोमबार दिउँसो खोलामा नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार छिमेकीको दाहसंस्कारमा सहभागी हुन गएका साह नुहाउन लखन्देही सोतीमा पसेका थिए। त्यसक्रममा उनलाई खोलाले बगाएको हो।
लगातारको वर्षाका कारण खोलामा पानीको सतह बढेकाले घटना भएको प्रहरीले जनाएको छ।
साहको खोजीका लागि स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको प्रहरी नायब उपरीक्षक गौतमले जानकारी दिए।

























