धरानमा शिक्षक नियुक्तिको आश्वासनपछि विद्यार्थीको अनशन अन्त्य

Share this
768shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १३, मंगलबार १८:३२

धरान । विद्यालयमा लामो समयदेखि रिक्त शिक्षक दरबन्दी पूर्ति गर्नुपर्ने माग राख्दै आमरण अनशनमा बसेका विद्यार्थी प्रतिनिधि रोजन शंकरले अनशन अन्त्य गरेका छन् ।

धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर आइन्द्रविक्रम बेघा र नगर बाल सञ्जालका प्रतिनिधिबीच शिक्षक नियुक्तिसहित पाँचबुँदे सहमति भएपछि शंकरले अनशन तोडेका हुन् । सहमति कार्यान्वयन गर्ने प्रतिबद्धतासहित कार्यवाहक मेयर बेघा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका थिए । उनले शंकरलाई जुस खुवाएर अनशन अन्त्य गराएका हुन् ।

Advertisement

शिक्षक अभावको समस्या समाधान गर्न माग गर्दै नगर बाल सञ्जालले आन्दोलन गर्दै आएको थियो । धरान उपमहानगरपालिका–११ को ज्ञानोदय माध्यमिक विद्यालयमा तीन वर्षदेखि र धरान–६ को सरस्वती माध्यमिक विद्यालयमा नौ महिनादेखि शिक्षक रिक्त रहेको सञ्जालको दाबी छ । शिक्षक नहुँदा विशेषगरी कक्षा १० का विद्यार्थीको नियमित पठनपाठन प्रभावित हुँदै आएको बताइएको छ ।

आफ्ना मागप्रति सम्बन्धित निकाय गम्भीर नभएको भन्दै शंकरले केही दिनअघि धरान उपमहानगरपालिकाका कार्यवाहक मेयरकै कार्यकक्षमा फिनेल सेवन गरेको घटना सार्वजनिक भएको थियो । फिनेल सेवन गरेको भन्दै उनलाई तत्काल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेर उपचार गरिएको थियो ।

पछिल्लो सहमतिअनुसार दुवै विद्यालयमा रिक्त शिक्षक पदमा तत्काल नियुक्ति प्रक्रिया अघि बढाउने प्रतिबद्धता उपमहानगरपालिकाले जनाएको छ । शिक्षक अभावको समस्या समाधानका लागि सहमति कार्यान्वयन हुने भएपछि विद्यार्थी पक्षले आन्दोलन स्थगित गरेको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×