रासायनिक मल कारखाना खोल्न सरकारले चाँडै प्रस्ताव आह्वान गर्ने

Share this
747shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असोज १४, बुधबार १५:४९
बाढी प्रभावित बालबालिकाको पीडाप्रति संवेदनशील बन्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने प्रक्रिया सरकारले अघि बढाइरहेको बताएका छन् । कारखाना स्थापनाका लागि सरकारले चाँडै प्रस्ताव आह्वान गर्ने तयारी गरेको उनले जानकारी दिएका छन् ।

सिंहदरबारमा इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग आज (बुधबार) भएको छलफलमा प्रधानमन्त्री शाहले यस्तो जानकारी दिएका हुन् । छलफलमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. राम लामाका अनुसार प्रधानमन्त्री शाहले मल कारखाना स्थापनाका लागि छिट्टै प्रस्ताव आह्वान गरिने बताएका थिए ।

मल कारखाना स्थापनासँगै विद्युत् खपत बढाउने आयोजना तथा योजनालाई सरकारले प्राथमिकता दिने प्रधानमन्त्री शाहले बताएका थिए । यस्ता आयोजना सञ्चालनका लागि आवश्यक सहुलियत उपलब्ध गराउने सरकारको योजना रहेको पनि उनले जानकारी दिए ।

वर्तमान सरकारले निजी क्षेत्रसँगको सहकार्यमा नेपालमै रासायनिक मल कारखाना स्थापना गर्ने प्रतिबद्धता सार्वजनिक गरिसकेको छ । त्यसका लागि आवश्यक नीतिगत तथा कानुनी सुधार गर्नुका साथै भन्सारसम्बन्धी व्यवस्था सुधार गर्ने प्रतिबद्धता पनि सरकारले जनाएको छ ।

नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने विषय नयाँ भने होइन । यसअघि विभिन्न सरकारले बजेटमार्फत कारखाना स्थापनाका लागि रकमसमेत विनियोजन गर्दै आएका थिए । तर, अहिलेसम्म कारखाना स्थापना हुन सकेको छैन । प्रधानमन्त्री शाहले भने यसलाई सरकारको प्राथमिकतामा राखेर अघि बढाउने बताएका छन् ।

बुधबार मध्याह्न १२ बजेदेखि दिउँसो सवा २ बजेसम्म भएको छलफलमा १७ जना सांसद सहभागी थिए । छलफलको सुरुवातमा सांसदहरूले बाढी–पहिरोपछि उत्पन्न अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । त्यसपछि प्रधानमन्त्री शाहले संसदमा उठ्ने विषय, सांसदहरूको भूमिका र सरकारसँगको समन्वयबारे धारणा राखेका थिए । उनले मुलुकको औद्योगिकीकरणका लागि सरकारले गर्नुपर्ने कामबारे ठोस सुझाव र योजना लिएर आउन सांसदहरूलाई आग्रह गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.