
इलाम । नुवाकोटमा गत भदौ १० गते त्रिशूली नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका खीनमाया न्यौपाने र बुद्धिसागर न्यौपानेको अन्त्येष्टि गरिने भएको छ। बाढीपछि सरकारी तथा निजी क्षेत्रबाट निरन्तर खोजी गरिए पनि हालसम्म उनीहरूबारे कुनै जानकारी प्राप्त हुन नसकेपछि परिवारले अन्त्येष्टि गर्ने निर्णय भएको छोरा राजेश न्यौपानेले जानकारी दिए ।
परिवारका अनुसार दक्षिण सुडानमा रहेका जेठा छोरा बिहीबार काठमाडौं आइपुग्ने भएकाले त्यसपछि सोही दिन बिहान ११ बजे कुशको शव निर्माण गरी पशुपति आर्यघाटमा विधिपूर्वक अन्त्येष्टि गरिनेछ। परिवारले आफन्त, नातागोता, कुलकुटुम्ब, शुभचिन्तक तथा छरछिमेकीलाई अन्त्येष्टि कर्ममा सहभागी भइदिन आग्रह गरेको छ।
परिवारले १३ दिनसम्मको काजकिरिया काठमाडौंको टोखा नगरपालिका–६, धापासीस्थित कृष्ण मन्दिर वा डाँफे कोलोनी नजिकैको क्रियापुत्री भवनमा गर्ने निर्णय गरेको जनाएको छ।

























