
काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद र गुटगत प्रतिस्पर्धा उत्कर्षमा पुगेकै बेला पूर्वसभापति शेरबहादुर देउवा पक्षले १५ औँ महाधिवेशनअन्तर्गत बिहीबार (आज) देखि वडा अधिवेशन सुरु गर्दै छ ।
सभापति गगन थापा नेतृत्वको संस्थापन पक्षले असोज १८ गतेदेखि नै महाधिवेशनको तयारी तीव्र पारिरहँदा इतर समूह (देउवा पक्ष) ले भने छुट्टै कार्य तालिका सार्वजनिक गर्दै समानान्तर अधिवेशनको प्रक्रिया अघि बढाएको हो ।
देउवा समूहले आगामी मंसिर २१ देखि २३ गतेसम्म १५ औँ महाधिवेशन सम्पन्न गर्ने लक्ष्य राखेको छ। सोही रणनीतिअनुसार कार्य तालिका सार्वजनिक गरिएको छ । कार्य तालिकाअनुसार असोज १४ गते वडा अधिवेशन, असोज २० गते पालिका स्तरको अधिवेशन, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन, मंसिर ४ गते प्रदेश अधिवेशन र मंसिर २१–२३ १५ औँ केन्द्रीय महाधिवेशन हुनेछ ।
यस कार्य तालिकाको औपचारिक जानकारी निर्वाचन आयोगलाई गराइ सकिएको र ७७ वटै जिल्लामा केन्द्रीय निर्वाचन समितिका तर्फबाट निर्वाचन अधिकृत खटाइएको नेता किरणराज पौडेलले जानकारी दिएका छन् । आजदेखि सुरु हुने वडा अधिवेशनका लागि ५६ जिल्लामा निर्वाचन संयोजक खटाइसकेको छ।
नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद हाल सर्वोच्च अदालतमा विचाराधीन छ । मुद्दा विचाराधीन रहेकै अवस्थामा महाधिवेशन अघि बढाउन नहुने अडान देउवा पक्षले राख्दै आएको थियो । तर, संस्थापन पक्षले असोज ३ गतेदेखि नै महाधिवेशन प्रक्रिया सुरु गरेपछि देउवा पक्षले पनि छुट्टै महाधिवेशनको घोषणा गरेको हो ।
१४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक भएको दाबी गर्दै देउवा समूहले संस्थापन पक्षले बोलाएको महाधिवेशन प्रक्रियालाई पूर्ण रूपमा बहिष्कार गरेको छ।
देउवा पक्षीय महाधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले वडा तहदेखि नै पार्टी संगठनलाई बलियो, अनुशासित र जनमुखी बनाउनुपर्नेमा जोड दिएका छन् । उनले विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसका सम्पूर्ण नेता, कार्यकर्ता तथा क्रियाशील सदस्यहरूलाई उच्च मनोबल, उत्साह र सक्रियताका साथ आजदेखि सुरु हुने वडा अधिवेशनमा सहभागी हुन अपिल गरेका छन् ।
समानान्तर रूपमा सुरु भएका यी दुई अधिवेशनका कारण नेपाली कांग्रेसको राजनीति थप पेचिलो बनेको छ भने तल्लो तहका कार्यकर्तामाझ अन्योल र उत्साह दुवै थपिएको छ ।

























