
विराटनगर । फिफाको निलम्बनमा रहेको नेपालले यस पटक साफ च्याम्पियनसिप खेल्न नपाउने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नेपालको निलम्बन फुकुवा गरी प्रतियोगितामा सहभागी गराउन सेप्टेम्बर ३० सम्मको समय सीमा दिएको थियो। तर, निर्धारित समयभित्र निलम्बन फुकुवा नभएपछि नेपालको सहभागिता रद्द भएको हो ।
यससँगै साफ च्याम्पियनसिपको इतिहासमै पहिलो पटक नेपाल दक्षिण एसियाको प्रतिष्ठित क्षेत्रीय फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले यसअघि साफ च्याम्पियनसिपका सबै संस्करणमा सहभागिता जनाउँदै आएको थियो ।
नेपालको फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) मा देखिएको विवादपछि फिफाले नेपालमाथि निलम्बनको निर्णय गरेको थियो । निलम्बन कायमै रहेपछि साफले प्रतियोगितामा नेपालको सहभागिता सुनिश्चित गर्न आवश्यक प्रक्रिया पूरा गर्न समय सीमा तोकेको थियो ।
तर, तोकिएको समयभित्र आवश्यक प्रक्रिया पूरा हुन नसकेपछि नेपाललाई प्रतियोगिताबाट बाहिर राखिएको हो ।
यस वर्षको साफ च्याम्पियनसिप नोभेम्बर ५ देखि १७ तारिखसम्म बंगलादेशमा आयोजना हुँदैछ । नेपालले साफ च्याम्पियनसिपको स्थापनाकालदेखि नै हरेक संस्करणमा सहभागिता जनाउँदै आएको थियो ।



















