
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्रीले प्रतिनिधिसभामा पत्रकार तथा प्रेस काउन्सिललाई लक्षित गरी दिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले विज्ञप्ति जारी गर्दै सांसद खत्रीको अभिव्यक्ति पत्रकारिता क्षेत्रलाई होच्याउने र अपमान गर्ने खालको भएको जनाएको हो । महासंघले उक्त भनाइप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै खत्रीलाई तत्काल आफ्नो अभिव्यक्तिका लागि क्षमायाचना गर्न आग्रह गरेको छ ।
असोज १४ गतेको प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा खत्रीले प्रेस काउन्सिलको भूमिकामाथि प्रश्न उठाउँदै ‘पत्रकार हुन् कि गुण्डा’ भन्ने अभिव्यक्ति दिएका थिए । त्यस क्रममा उनले पत्रकारका नाममा कसैलाई पनि ‘असनको साँढे’ बन्ने छुट नभएको बताएका थिए । खत्रीले राजनीतिक दलसँग नजिक भएर पत्रकार तथा प्रेस क्षेत्रबाट हुने गतिविधिमाथि पनि प्रश्न उठाएका थिए । उनको यही अभिव्यक्तिलाई लिएर महासंघले आपत्ति जनाएको हो ।
महासंघले सांसदको उक्त धारणा अशोभनीय, अमर्यादित र अराजक भएको टिप्पणी गरेको छ । प्रेस तथा पत्रकारिताको संवैधानिक अधिकारलाई बेवास्ता गर्दै पत्रकारलाई धम्क्याउने वा अपमानित गर्ने शैली स्वीकार्य नहुने महासंघको भनाइ छ ।यसैबीच, खत्रीले शुक्रबार भक्तपुरमा आयोजना गर्न लागेको अन्तर्क्रिया कार्यक्रम बहिष्कार गर्ने त्यहाँका पत्रकारहरूले घोषणा गरेको महासंघले जनाएको छ । महासंघले विवादलाई थप नचर्काउन खत्रीले तत्काल आफ्नो भनाइप्रति माफी माग्नुपर्नेमा जोड दिएको छ ।
महासंघले खत्रीको उक्त अभिव्यक्ति प्रतिनिधिसभाको रेकर्डबाट हटाउन सभामुखसमक्ष मागसमेत गरेको छ । साथै, प्रेस तथा पत्रकारितामाथि अपमानजनक वा धम्कीपूर्ण अभिव्यक्ति दिने कार्यमा संलग्न सांसद खत्रीलाई आवश्यक कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायसँग आग्रह गरेको छ । महासंघले प्रेस स्वतन्त्रता र पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न सबै राजनीतिक दल तथा जनप्रतिनिधिलाई आग्रहसमेत गरेको छ ।

























