भोटेकोशी बाढीः अझै २५ जना प्रहरी सम्पर्कविहीन

Share this
679shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १६, शुक्रबार १७:५०

रसुवा। भोटेकोशीमा आएको बाढीले रसुवाका विभिन्न प्रहरी चौकी बगाउँदा २५ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन् । केहीको शव फेला परेको छ भने इलाका प्रहरी कार्यालय टिमुरेका प्रहरी सहायक निरीक्षकसहित केही प्रहरीको अवस्था अझै अज्ञात छ ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक एवं प्रवक्ता डिल्लीराज सापकोटाका अनुसार बाढीमा बगेका इलाका प्रहरी कार्यालय टिमुरेका प्रहरी सहायक निरीक्षक रामहरि खड्का, प्रहरी सहायक हवल्दार दीपेन्द्र विष्ट र बेत्रावती प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक रामकाजी पौडेलको शव फेला परेको छ ।

बाढीले इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी रसुवागढी, स्याफ्रुबेंसी र बेत्रावती तथा अस्थायी प्रहरी पोष्ट मैलुङमा ठूलो क्षति पुर्‍याएको छ । कतिपय प्रहरी चौकी र भौतिक संरचना बाढीले पूर्ण रूपमा बगाएको छ भने केही संरचना क्षतविक्षत अवस्थामा छन् ।

प्रहरी वरिष्ठ हवल्दार राजु तामाङका अनुसार बिहान करिब ८ः४५ बजे स्याफ्रुबेंसी बजारमा कन्टेनर डिब्बाको लाइन मिलाउने र इन्ट्री गर्ने काम भइरहेका बेला बाढी आएको थियो ।

अस्थायी प्रहरी पोष्ट मैलुङमा कार्यरत प्रहरी हवल्दार रोशन विष्टले बाढी आउँदै गरेको खबर पाएपछि जलविद्युत् आयोजनाका कर्मचारीलाई सुरक्षित रहन सूचना दिन दौडिएको बताए । तर, खबर गर्दागर्दै करिब ५०० मिटर माथिबाट आएको लेदो र छालले आफूहरूलाई बगाएको उनले सुनाए ।

विष्टका अनुसार उनले विभिन्न आठ ठाउँमा ओत लाग्दै र हिलोमा संघर्ष गर्दै भाग्यवश ज्यान जोगाउन सफल भए । सोही पोष्टमा कार्यरत प्रहरी सहायक हवल्दार दुर्गाबहादुर मगर भने उकालोतिर दौडिएर सुरक्षित स्थानमा अड्किएपछि ज्यान जोगाउन सफल भएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×