
विराटनगर । सुविन भट्टराईद्वारा लिखित चर्चित उपन्यास ‘समर लभ’ मा आधारित नाटक शनिबार विराटनगरमा मञ्चन हुने भएको छ । कान्तिपुर थिएटरले असोज १७ र १८ गते विराटनगरस्थित वीरेन्द्र सभागृहमा नाटक मञ्चन गर्न लागेको हो ।
दुई दिनमा तीन–तीन सो सञ्चालन गर्ने तयारी गरिएको कान्तिपुर थिएटरले जनाएको छ । नाटक मञ्चन हुने सभागृहको स्टेज निर्माण, प्रकाश, ध्वनि तथा अन्य प्राविधिक संरचनाहरू सम्पूर्ण तयार भइसकेको छ ।
थिएटरको यो छैटौँ नाट्य प्रस्तुति हो । सुविन भट्टराईको चर्चित उपन्यासमा आधारित ‘समर लभ’लाई सम्राट भुजेलले नाट्य रूपान्तरण तथा निर्देशन गरेका हुन् । नाटकले अतीत र सायाको प्रेमकथा, युवा जीवन, सम्बन्ध, भावना तथा बिछोडका विभिन्न आयामलाई रंगमञ्चमार्फत प्रस्तुत गर्छ ।
नाटकमा सागर खनालले अतीत शर्मा र बास्ना तिमल्सिनाले साया शाक्यको भूमिका निर्वाह गरेका छन् । त्यस्तै चलचित्र निर्देशक तथा अभिनेता अर्पण थापाले पहिलो पटक रंगमञ्चमा अभिनय गरेका छन् । उनको भूमिकासहित विनीता गिरी, रक्षा गौतम, सनम श्रेष्ठ, जानकी बजगाईंलगायत कलाकारको अभिनय नाटकमा रहेको छ ।
काठमाडौंमा मञ्चन हुँदा ‘समर लभ’ले दर्शकको उल्लेख्य चासो पाएको थियो । करिब दुई घण्टाको प्रस्तुतिमा संवादसँगै प्रकाश, संगीत र दृश्य संयोजनमार्फत उपन्यासको कथालाई रंगमञ्चमा प्रस्तुत गरिएको छ ।
यसअघि विराटनगरमा थिएटरले प्रस्तुत गरेको ‘सेतो धरती’ नाटकलाई दर्शकबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको थियो । त्यसैको निरन्तरताका रूपमा ‘समर लभ’ विराटनगर ल्याउन लागिएको कान्तिपुर थिएटरका सिइओ प्रकाश पुरीले जानकारी दिए ।
थिएटरले नेपाली रंगमञ्चलाई काठमाडौं बाहिरका दर्शकमाझ समेत विस्तार गर्ने उद्देश्यअनुसार विभिन्न सहरमा आफ्ना प्रस्तुति लैजाने तयारी भइरहेको पुरीले बताए । विराटनगरमा हुने ‘समर लभ’को प्रत्येक दिन बिहान ११ बजे, दिउँसो २ बजे र साँझ ५ बजे गरी तीन सो हुने आयोजकले जनाएको छ । टिकट दर ३ सय, ५ सय र १ हजार रहेको छ । साथै टिकटका लागि कान्तिपुर थिएटरको वेबसाइटबाट बुक गर्न सकिने आयोजकले जनाएको छ ।
उपन्यास पढेका पाठकका लागि आफूले कल्पना गरेका पात्र र कथालाई प्रत्यक्ष रंगमञ्चमा हेर्ने अवसरका रूपमा समेत ‘समर लभ’को विराटनगर प्रदर्शनलाई हेरिएको छ । करिब डेढ दशकअघि प्रकाशित उपन्यास अझै पनि युवा पुस्तामाझ परिचित रहेकाले विराटनगरको प्रस्तुतिमा पनि दर्शकको चासो रहने आयोजकको अपेक्षा छ ।

























