
झापा। पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने लक्ष्यसहित निर्माण भइरहेको एसियन हाइवेअन्तर्गत काँकडभिट्टा–लौकही सडकको पूर्वी खण्डमा हालसम्म ५२ प्रतिशत सडक कालोपत्र भएको छ।
निर्माण सम्झौताको अवधि सकिन करिब चार महिना बाँकी रहँदा आयोजनाले तोकिएको समयभित्र ९० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य राखेको छ। आयोजना प्रमुख सुनिलबाबु पन्तका अनुसार अहिले दैनिक ७०० देखि ८०० मिटरसम्म सडक कालोपत्र भइरहेको छ।
‘अझै चार महिना बाँकी छ। त्यस बेलासम्म ९० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य छ,’ पन्तले भने।
सडक निर्माणको तुलनामा पुल निर्माणको प्रगति भने कम छ। आयोजनाका अनुसार पुल निर्माणको समग्र प्रगति हाल ३१ प्रतिशत छ। पूर्वी खण्डमा २१ वटा पुल निर्माणाधीन छन्। ३०० मिटरभन्दा लामा निन्दा, बिरिङ र कन्काई पुलको निर्माण पनि जारी छ। पश्चिम खण्डमा रतुवा, बक्राहा र लोहन्द्रा खोलामा पुल निर्माण भइरहेको छ।
आयोजनाअन्तर्गत अधिकांश साना कल्भर्ट निर्माण सम्पन्न भइसकेका छन्। बाँकी सडक स्तरोन्नति, पुल तथा ओभरपास निर्माणको काम एकैसाथ अघि बढाइएको छ।
पूर्वी खण्डमा चारआली चोक, बिर्तामोड र चारपानेमा मोटरेबल ओभरपास निर्माण गर्ने योजना छ। चारआलीको जङ्गल क्षेत्रमा हात्तीका लागि अन्डरपास तथा पैदलयात्रीका लागि छ वटा क्रसिङ निर्माण गरिनेछ।
एसियाली विकास बैंकको ऋण सहयोगमा सडक निर्माण तथा स्तरोन्नतिको काम भइरहेको हो। पूर्वी खण्डअन्तर्गत ४५ किलोमिटर काँकडभिट्टा–सितापुरी सडक स्तरोन्नतिका लागि १० अर्ब ६ करोड ९४ लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको छ।



















