
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा ४६ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमा उनले आगामी चार वर्षका लागि पार्टीले लिनुपर्ने राजनीतिक, वैचारिक तथा संगठनात्मक दिशाबारे आफ्नो दृष्टिकोण अघि सारेका छन् ।
थापाले कांग्रेसको नयाँ नेतृत्व परिवर्तनमा सीमित हुन नहुने भन्दै महाधिवेशनबाटै आगामी कार्यकालमा निर्वाह गर्नुपर्ने जिम्मेवारी स्पष्ट हुनुपर्ने बताएका छन् । उनको प्रतिवेदनमा पार्टीको आगामी चार वर्षलाई देशको आगामी दशकको राष्ट्रिय आकांक्षासँग जोडेर अघि बढाउने अवधारणा प्रस्तुत गरिएको छ ।
प्रतिवेदनको मुख्य अवधारणाका रूपमा ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’लाई अघि सारिएको छ । यसलाई कांग्रेसको विगतको निरन्तरता, वर्तमानमा आवश्यक सुधार र भविष्यप्रतिको राष्ट्रिय अपेक्षाबीचको सम्बन्धका रूपमा व्याख्या गरिएको छ ।
थापाले लोकतान्त्रिक व्यवस्था, राज्य संयन्त्र र नागरिकबीच पछिल्लो समय कमजोर हुँदै गएको विश्वास पुनःस्थापित गर्नुपर्नेमा जोड दिएका छन् । उनका अनुसार राष्ट्रिय पुनर्जागरणको अवधारणाले कांग्रेसभित्रको सुधारसँगै राज्य र नागरिकबीचको सम्बन्धलाई समेत नयाँ आधारमा बलियो बनाउने लक्ष्य राख्छ ।
प्रतिवेदनमा आगामी नेतृत्वले पार्टीलाई राजनीतिक रूपमा प्रभावकारी, वैचारिक रूपमा स्पष्ट र संगठनात्मक रूपमा सक्षम बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ । महाधिवेशनबाट निर्वाचित हुने नेतृत्वले तत्कालीन राजनीतिक परिस्थितिसँगै दीर्घकालीन राष्ट्रिय आवश्यकतालाई समेत केन्द्रमा राखेर काम गर्नुपर्ने थापाको धारणा छ ।
चार वर्षको नेतृत्वको कार्यभारलाई आगामी दशकको राष्ट्रिय लक्ष्यसँग जोडेर अघि बढाउने उद्देश्यसहित प्रतिवेदन तयार पारिएको थापाको भनाइ छ । बन्दसत्रमा प्रतिवेदन प्रस्तुत गरेपछि थापाले त्यसका बारेमा थप धारणा राखिरहेका छन् ।
यस्तो छ प्रतिवेदन

























