पशुपतिनाथको प्रवेश व्यवस्थाबारे विश्व हिन्दू परिषद्को ध्यानाकर्षण

Share this
824shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २०, मंगलबार १३:२८

काठमाडौं । पशुपतिनाथ मन्दिरको धार्मिक मर्यादा, परम्परा तथा प्रवेश व्यवस्थाको उल्लङ्घन भएको विषयप्रति विश्व हिन्दू परिषद् नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

परिषद्को मठ–मन्दिर, अर्चक तथा पुरोहित विभागले विज्ञप्ति जारी गर्दै पशुपतिनाथ मन्दिर नेपालको राष्ट्रिय धार्मिक सम्पदासँगै विश्वभरका हिन्दूहरूको आस्थाको प्रमुख केन्द्र भएकाले यसको धार्मिक परम्परा, संस्कार र पूजापद्धतिको संरक्षण गर्नुपर्नेमा जोड दिएको छ ।

हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा मुस्लिम समुदायका केही व्यक्ति पशुपतिनाथ मन्दिरमा प्रवेश गरेको देखिएको भन्दै परिषद्ले घटनाप्रति आपत्ति जनाएको छ । धार्मिक आस्था र परम्परासँग जोडिएको संवेदनशील स्थलमा प्रचलित नियमलाई चुनौती दिने तथा त्यसको भिडियो बनाएर सार्वजनिक गर्ने कार्य स्वीकार्य नहुने परिषद्को भनाइ छ ।

परिषद्ले घटनालाई कुनै धर्म वा समुदायविरुद्धको विषयका रूपमा नभई मन्दिरको धार्मिक मर्यादा, स्थापित प्रवेश व्यवस्था र कानुनी शासनसँग सम्बन्धित विषयका रूपमा लिनुपर्ने स्पष्ट गरेको छ । धार्मिक स्वतन्त्रताको अर्थ अर्को धर्मको विशिष्ट धार्मिक स्थलमा लागू नियम तथा परम्पराको उल्लङ्घन गर्ने अधिकार नभएको पनि परिषद्ले जनाएको छ ।

परिषद्ले घटनाको निष्पक्ष छानबिन गरी तथ्य र प्रमाणका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सम्बन्धित निकायसँग माग गरेको छ । साथै, पशुपति क्षेत्र विकास कोषले मन्दिरको प्रवेश व्यवस्था तथा सुरक्षाकर्मी र कर्मचारीको भूमिकाबारे छानबिन गरी स्पष्ट पार्नुपर्ने माग गरेको छ ।

भविष्यमा यस्ता घटना दोहोरिन नदिन मन्दिरको प्रवेश व्यवस्था, सुरक्षा र अनुगमन प्रणालीलाई थप प्रभावकारी बनाउन परिषद्ले आग्रह गरेको छ । साथै, सामाजिक सञ्जालमा हिन्दूहरूको धार्मिक आस्थामा ठेस पुग्ने किसिमका सामग्री प्रचार–प्रसार नगर्न पनि आग्रह गरिएको छ ।

पशुपतिनाथ नेपालको सनातन सभ्यता, संस्कृति, धार्मिक आस्था र पहिचानसँग जोडिएको अमूल्य सम्पदा भएकाले यसको धार्मिक मर्यादा र परम्पराको संरक्षण गर्नु राज्य, सम्बन्धित निकाय तथा समाजको साझा दायित्व भएको परिषद्ले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×