झापामा तास र लंगुरबुर्जा खेल्ने, खेलाउने ११ जना पक्राउ

Share this
683shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २०, मंगलबार ०९:३६

झापा । झापाको मेचीनगरमा तास र लंगुरबुर्जा खेल्ने तथा खेलाउने ११ जना पक्राउ परेका छन् । प्रहरीले छुट्टाछुट्टै स्थानबाट तास खेलिरहेको अवस्थामा सात जना र लंगुरबुर्जा खेलाउँदै गरेको अवस्थामा चार जनालाई नियन्त्रणमा लिएको हो ।

आइतबार मेचीनगर–१० धुलाबारीस्थित सेकुवा कर्नरमा जुवातास खेलिरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी टोली खटिएको थियो । ४५ वर्षीय जमिन राईले सञ्चालन गरेको सेकुवा कर्नरको पछाडिपट्टि उत्तरतर्फ रहेको टिनको छानो भएको घरमा खानतलासी गर्दा तास खेलिरहेका सात जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मेचीनगर–१० का किरण लम्साल, मेचीनगर–५ दोकानडाँडाका विशाल लावती, मेचीनगर–१० का हर्कराज राई, मेचीनगर–७ का प्रकाश लावती, मेचीनगर–३ का सागर बस्नेत, मेचीनगर–१० का मेदनी बराल र मेचीनगर–५ का शेखरनाथ भण्डारी छन् ।

प्रहरीले उनीहरूको साथबाट आठ बुङ तास र १ लाख ८ हजार ५ सय २० रुपैयाँ नगद बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेकाविरुद्ध जुवा खेल्ने वा सट्टेबाजी गर्न नहुने कसुरमा झापा जिल्ला अदालतबाट चार दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच, मेचीनगर–८ इटाभट्टा चोकमा लंगुरबुर्जा खेलाउँदै गरेको आरोपमा चार जना पक्राउ परेका छन् । सोमबार लंगुरबुर्जा (डाइस) खेलाइरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय झापा र अस्थायी प्रहरी पोस्ट इटाभट्टाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा मेचीनगर–६ का चेतबहादुर लिम्बू र दीपक चौधरी, मेचीनगर–५ का सनम तामाङ तथा मेचीनगर–७ का जुगल भुजेल छन् । उनीहरूको साथबाट १८ हजार ५० रुपैयाँ नेपाली र २ सय भारतीय रुपैयाँसहित डाइस बरामद भएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×