
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा अहिलेसम्म दुई जना पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका हुन् ।
आज (मंगलबार) उम्मेदवारी दर्ताको समय सकिँदासम्म वरिष्ठ उपसभापति र महिला उपसभापति पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परेपछि शर्मा र भुसाल निर्विरोध भएका हुन् । निर्वाचन समितिले ती दुवै पदमा उनीहरू निर्विरोध निर्वाचित भएको जनाएको छ ।
१५औँ महाधिवेशनबाट कांग्रेसले पदाधिकारीको संख्या बढाएर २६ पुर्याएको छ । नयाँ संरचनाअनुसार एक सभापति, एक वरिष्ठ उपसभापति, पाँच उपसभापति, तीन महामन्त्री र १५ सहमहामन्त्री रहने व्यवस्था गरिएको छ ।
सभापतिमा गगनकुमार थापा, श्यामकृष्ण खड्गी र किशोरसिंह राठौरबीच प्रतिस्पर्धा हुने भएको छ । तीनै जनाले उम्मेदवारी दर्ता गरेका छन् । चार खुला उपसभापतिका लागि नौ जना र समावेशी उपसभापतिका लागि पाँच जनाले उम्मेदवारी दिएका छन् ।
महामन्त्रीका तीन पदमा पनि प्रतिस्पर्धा हुने भएको छ । महिला महामन्त्रीका लागि डिला संग्रौला, रीता खनाल र महालक्ष्मी उपाध्याय ‘डिना’सहित विभिन्न उम्मेदवारले मनोनयन दर्ता गरेका छन् भने खुला महामन्त्रीमा पनि एकभन्दा बढी उम्मेदवार छन् ।
यसअघि पुसमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापति, विश्वप्रकाश शर्मा र पुष्पा भुसाल उपसभापति तथा प्रदीप पौडेल र गुरुराज घिमिरे महामन्त्री निर्वाचित भएका थिए । १५औँ महाधिवेशनले भने संशोधित विधानअनुसार नयाँ संरचनामा पदाधिकारी चयन गर्दैछ ।

























