
काठमाडौं । आगामी चाडपर्वलाई लक्षित गर्दै सरकारले सार्वजनिक यातायातलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन विभिन्न सात निर्णय गरेको छ । यातायात व्यवस्था विभागको समन्वयमा सरकार तथा यातायात क्षेत्रका सरोकारवालाबीच भएको बैठकले यात्रुको आवागमन सहज बनाउन अग्रिम टिकट बुकिङदेखि ठूला सवारी साधन सञ्चालनमा रोक लगाउनेसम्मका निर्णय गरेको हो ।
बैठकले मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ । चाडपर्वमा ठूलो संख्यामा यात्रु घर फर्किने भएकाले यात्रुको सहजताका लागि अग्रिम टिकटको व्यवस्था गर्न लागिएको हो ।
यस्तै, सडकमा यातायातको चाप व्यवस्थापन गर्न घटस्थापना अर्थात् असोज २५ गतेदेखि कात्तिक ८ गते पूर्णिमासम्म नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ । तर खाद्यान्न, औषधि, फलफूललगायत अत्यावश्यक सामग्री बोकेका सवारी साधनलाई भने आवतजावतमा रोक नलगाइने भएको छ ।
यात्रुवाहक सवारी साधनको सहज सञ्चालनका लागि घटस्थापनादेखि कात्तिक १० गतेसम्म देशभर रुट परमिट खुला गर्ने निर्णय पनि गरिएको छ । यसबाट चाडपर्वका बेला यात्रुको मागअनुसार सार्वजनिक सवारी साधन सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ।
यात्रुको सहजीकरणका लागि काठमाडौं उपत्यकाका प्रमुख नाकामा यातायात व्यवस्था विभागले फोकल पर्सनसहितको टोली परिचालन गर्ने भएको छ । यातायात व्यवसायीका तर्फबाट पनि सम्पर्क व्यक्ति खटाइने छ ।
यसैगरी, नयाँ बसपार्क क्षेत्रमा मोबाइल नेटवर्कमा उच्च ट्राफिक हुने भएकाले नेपाल टेलिकमलगायत दूरसञ्चार सेवा प्रदायकलाई नेटवर्कको क्षमता वृद्धि तथा विस्तारका लागि पत्राचार गर्ने निर्णय गरिएको छ।
चाडपर्वका समयमा रिजर्भमा सञ्चालन हुने सवारी साधन र यात्रुको विवरण व्यवस्थित गर्न विभागले नमुना फाराम तयार गरी यातायात व्यवसायीलाई उपलब्ध गराउने भएको छ । व्यवसायीले उक्त फाराममा विवरण प्रविष्ट गरेपछि मात्र रिजर्भ सेवा सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ।
बैठकले सार्वजनिक सवारी साधनको प्राविधिक अवस्था र फिटनेस परीक्षणलाई पनि प्राथमिकता दिएको छ। सवारी साधनको फिटनेस जाँचका लागि नाडा र सिप्रदीलाई अनुरोध गर्ने तथा यातायात व्यवस्था विभागको टेकुस्थित सवारी परीक्षण कार्यालयबाट प्राविधिक कर्मचारी परिचालन गर्ने निर्णय भएको छ ।

























