
विराटनगर । कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी शेखर खनालले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै जिल्लाको शान्ति सुरक्षा व्यवस्था थप मजबुत बनाउन प्रहरी जनशक्ति प्रभावकारी रूपमा परिचालन गर्न निर्देशन दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय तेह्रथुमको निरीक्षण भ्रमणका क्रममा डीआईजी खनालले कार्यालय भवन, विभिन्न शाखा तथा हिरासत कक्षको निरीक्षण गर्दै कार्यरत प्रहरी कर्मचारीलाई यस्तो निर्देशन दिएका हुन् । उनले चाडपर्वका बेला मुख्य बजार, बसपार्क, सार्वजनिक स्थल तथा बढी भीडभाड हुने क्षेत्रमा प्रहरीको उपस्थिति बढाउन निर्देशन दिए ।
यात्रुलाई सुरक्षित, सहज र व्यवस्थित रूपमा गन्तव्यसम्म पुग्ने वातावरण निर्माण गर्न बसपार्क तथा यात्रुको बढी भिड हुने स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गर्न, सवारी साधनको नियमित अनुगमन गर्न तथा सम्भावित दुर्घटना र आपराधिक गतिविधि नियन्त्रणका लागि प्रभावकारी सुरक्षा योजना बनाएर कार्यान्वयन गर्न उनले जोड दिए ।
प्रहरी कर्मचारीहरू आफ्नो जिम्मेवारीप्रति थप उत्तरदायी, अनुशासित, इमानदार र सेवामुखी भएर कार्य गर्नुपर्ने बताउँदै खनालले प्रहरी संगठनप्रति नागरिकको विश्वास अभिवृद्धि हुने गरी सेवा प्रवाह गर्न निर्देशन दिए । उनले कार्यसम्पादन सम्झौता तथा अटोमेसन प्रणालीमा उल्लेखित सूचक र जिम्मेवारीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै परिणाममुखी प्रहरी सेवामा केन्द्रित हुनुपर्ने बताए ।
निरीक्षणका क्रममा तेह्रथुमका प्रहरी प्रमुख डीएसपी लक्ष्मण ओलीले जिल्लाको समग्र शान्ति सुरक्षा अवस्था, प्रहरी परिचालन तथा सुरक्षा व्यवस्थाबारे डीआईजी खनाललाई जानकारी गराएका थिए ।


























