
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी बन्द सत्रमा प्रस्ताव तथा प्रतिवेदनमाथिको छलफल मंगलबार सकिएको छ ।
महाधिवेशन प्रतिनिधिहरूले पार्टीको आगामी राजनीतिक दिशा, संगठन, समसामयिक विषय र आर्थिक अवस्थासँग सम्बन्धित दस्तावेजमाथि आफ्ना धारणा राखेका छन् । बन्द सत्रमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ सम्बन्धी राजनीतिक प्रस्तावमाथि प्रतिनिधिहरूले छलफल गरेका थिए ।
त्यस्तै उपसभापति विश्वप्रकाश शर्माको ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’ सम्बन्धी समसामयिक प्रस्ताव, महासचिव गुरुराज घिमिरेको संगठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदन पनि छलफलको विषय बने ।
छलफलमा सातै प्रदेशका महाधिवेशन प्रतिनिधिका साथै पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरू सहभागी भएका थिए । प्रतिनिधिहरूको धारणा सुनेपछि मंगलबारको बन्द सत्र स्थगित गरिएको हो ।
कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बन्द सत्र बुधबार असोज २१ गते बिहान १०ः३० बजे पुनः सुरु हुनेछ । कांग्रेसका अनुसार बुधबारको सत्रको सुरुवात सभापति गगनकुमार थापाको सम्बोधनबाट हुनेछ ।
बुधबारको बन्द सत्रले राजनीतिक तथा समसामयिक प्रस्तावसँगै संगठन र आर्थिक प्रतिवेदनमाथिको छलफल टुंग्याएर ती दस्तावेज पारित गर्ने तयारी गरेको छ । यससँगै महाधिवेशनको नीतिगत तथा सांगठनिक छलफल औपचारिक निष्कर्षतर्फ अघि बढ्नेछ ।

























