शुक्रबारसम्म वर्षाको सम्भावना, शनिबारदेखि मौसममा सुधार

Share this
636shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २१, बुधबार १३:१५
कोशीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न क्षेत्रमा आगामी शुक्रबारसम्म वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार शनिबारदेखि भने मौसममा क्रमिक सुधार आउनेछ ।

धान भित्र्याउने समय भएकाले मौसमको पछिल्लो जानकारी लिएर मात्र कृषि कार्य गर्न विभागले किसानलाई आग्रह गरेको छ ।

विभागले आज -बुधबार) सार्वजनिक गरेको विवरणअनुसार अहिले देशका विभिन्न भूभागमा वर्षा भइरहेको छ । मौसमविद् रोजन लामिछानेका अनुसार चितवन, काठमाडौं, नवलपुर, तनहुँ र गोर्खालगायतका क्षेत्रमा पानी परिरहेको छ ।

सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका सुर्खेत, बर्दिया, बैतडी, डोटी, डडेल्धुरा र कैलाली आसपासमा मध्यम वर्षा भएको छ । चितवनको गोविन्दबस्ती र धनगढी विमानस्थल आसपासमा भने अन्य क्षेत्रको तुलनामा बढी वर्षा मापन गरिएको विभागले जनाएको छ ।

पछिल्लो २४ घण्टामा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भएको छ । गण्डकी र सुदूरपश्चिमका एक–दुई स्थानमा भने भारी वर्षा भएको छ ।

बुधबार देशका पहाडी र हिमाली भूभागमा तुलनात्मक रूपमा बढी वर्षा हुने अनुमान गरिएको छ । मधेस र कोशी प्रदेशका साथै तराईका क्षेत्रमा पनि पानी पर्ने सम्भावना छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीका पहाडी तथा तराई भूभाग र कोशीका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने विभागको पूर्वानुमान छ । तीमध्ये केही प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद् लामिछानेले बताए ।

बिहीबार भने बुधबारको तुलनामा वर्षा केही कम हुने अनुमान गरिएको छ । पूर्वी पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा भए पनि पश्चिमी र तराईका क्षेत्रमा वर्षाको मात्रा घट्ने विभागले जनाएको छ ।

शुक्रबार पूर्वी क्षेत्र र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना छ भने अन्य स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ । शुक्रबार लुम्बिनी, गण्डकी र बागमती प्रदेशका तराई क्षेत्रमा भने ठूलो वर्षाको सम्भावना नरहेको विभागले जनाएको छ ।

विभागले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पहेँलो रङको चेतावनी जारी गरेको छ । मौसमको पछिल्लो सूचना अद्यावधिक गर्दै पूर्वतयारी र सावधानी अपनाउनुपर्ने अवस्थामा पहेँलो चेतावनी जारी गरिन्छ । कोशी र मधेस प्रदेशमा भने वर्षाको सामान्य प्रभाव मात्र पर्ने देखिएको विभागले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×