‘कांग्रेसमा कुनै गुट छैन, सभापति र कार्यकर्ताको हैसियत बराबर’

Share this
654shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २१, बुधबार १८:३७

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र लामो समयदेखि देखिँदै आएको गुट र समूहको राजनीति अन्त्य भएको घोषणा गरेका छन् । १५औँ महाधिवेशनको बन्दसत्र समापन गर्दै थापाले कोइराला, पौडेललगायतका नाममा चिनिएका समूहसमेत अब नरहेको दाबी गरेका हुन् ।

थापाले महाधिवेशनपछि कांग्रेस कुनै व्यक्ति वा समूहको आधारमा नभई एउटै पार्टीका रूपमा अघि बढ्ने बताए । ‘विशेष न विशेष, कोइराला–पौडेल सबै गुट सकियो । कुनै समूह छैन । आजदेखि सबै सकियो गुट,’ उनले भने ।

उनका अनुसार महाधिवेशनमा नेतृत्वका लागि भएको प्रतिस्पर्धालाई जित र हारको रूपमा मात्रै बुझ्न हुँदैन । कांग्रेसलाई एउटै परिवारका रूपमा अघि बढाउनुपर्ने भन्दै उनले जिम्मेवारीका लागि प्रतिस्पर्धा हुनु स्वाभाविक भए पनि त्यसले पार्टीभित्र स्थायी विभाजन सिर्जना गर्न नहुने बताए ।

थापाले पार्टी सभापति हुनु कुनै विशेष हैसियत वा स्थायी सम्मानको पद नभएको पनि स्पष्ट पारे । सभापति र पार्टीका सामान्य कार्यकर्ताबीच अधिकार र हैसियतको भिन्नता नरहेको उनको भनाइ थियो ।

‘यो पार्टीभित्र मेरो जति हक र हैसियत छ, त्यति नै हक र हैसियत पार्टीको भुइँमा बस्ने साथीको पनि बराबर छ,’ थापाले भने, ‘पार्टीको सभापति माननीय, सम्माननीय होइन । यो एउटा समय तोकेर दिएको जिम्मेवारी हो । सभापति र कार्यकर्ताको हैसियत बराबर हुन्छ ।’

उनले कांग्रेसलाई नेतृत्वमा रहेका व्यक्तिको वरिपरि केन्द्रित गर्नेभन्दा संगठनका सबै तहका कार्यकर्तालाई समान महत्व दिएर अघि बढाउने संकेत गरे । नेतृत्व परिवर्तनसँगै पार्टीभित्रको सम्बन्ध र कार्यशैली पनि परिवर्तन हुनुपर्ने उनको भनाइ थियो ।

बन्दसत्रमा थापाले कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवासहित पार्टी निर्माणमा योगदान गरेका पुराना नेताहरू महाधिवेशनको मञ्चमा उपस्थित नहुँदा आफूलाई नमिठो लागेको पनि बताए । उनले देउवाले लामो समय कांग्रेसमा गरेको योगदान र संघर्षको स्मरण गर्दै पुराना नेताहरूको भूमिकालाई सम्मान गर्नुपर्ने धारणा राखे ।

‘विनम्रतापूर्वक आग्रह गर्छु, निवर्तमान पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो जीवनकालमा नेपाली कांग्रेस पार्टीमा लामो समय योगदान गर्नुभएको छ, संघर्ष गर्नुभएको छ,’ थापाले भने, ‘पार्टी निर्माणमा यति ठूलो योगदान गर्नुभएको छ, पार्टीका अरू नेताहरूको योगदान छ । त्यसकारण हामीलाई मिठो लागिरहेको छैन । आज यो मञ्चमा हाम्रा दाइहरू पनि हुनुपर्थ्यो भन्ने हामीलाई लाग्छ ।’

महाधिवेशनपछि कांग्रेसको मुख्य ध्यान पार्टीभित्रको गुट व्यवस्थापनभन्दा बाहिरको राजनीतिक बहस र जनताका मुद्दामा केन्द्रित हुने थापाले बताए । आफ्नो समयको ठूलो हिस्सा पार्टीभित्रको आन्तरिक व्यवस्थापनमा खर्च नगरी कांग्रेसका नीति, विचार र मुलुकका समसामयिक विषयमा समाज तथा जनताबीच बहस गर्न लगाउने उनको भनाइ छ ।

थापाले महाधिवेशन सकिएलगत्तै स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर पार्टी संगठन परिचालन गर्ने प्रतिबद्धता पनि जनाए । स्थानीय तहको निर्वाचनसम्म आफू दिनरात खटिने भन्दै उनले कांग्रेसलाई चुनावी तयारीमा केन्द्रित गर्ने संकेत गरे ।

महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै कांग्रेसभित्रको पुरानो समूहगत राजनीति अन्त्य गर्ने थापाको घोषणालाई पार्टीको आगामी कार्यदिशासँग जोडेर हेरिएको छ । उनले नेतृत्व आफ्नो हातमा आएपछि सभापतिको अधिकारलाई व्यक्तिगत शक्ति नभई निश्चित अवधिका लागि प्राप्त जिम्मेवारीका रूपमा प्रयोग गर्ने सन्देश दिएका छन् ।

तपाइको प्रतिक्रिया
बिर्तामोडमा फर्निचर पसलमा आगलागी, एक जना घाइते
बीएस्सी सीएसआईटी र बीसीएका नयाँ विद्यार्थीलाई विराट क्षितिजको अभिमुखीकरण
बीएस्सी सीएसआईटी र बीसीएका नयाँ विद्यार्थीलाई विराट क्षितिजको अभिमुखीकरण
तीनकुने आन्दोलनमा सुरक्षा संयन्त्र असफल, चार अधिकारीमाथि कारबाही सिफारिस
मन्त्रिपरिषद्को निर्णय: तीन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस, अरु के के छन् ?
विदेशमा दसैँको टीका लगाउने समय देशअनुसार फरक
विपद्मा बेपत्ता भएकालाई ४५ दिनमै मृतक घोषणा गर्न सरकारको तयारी
‘कांग्रेसमा कुनै गुट छैन, सभापति र कार्यकर्ताको हैसियत बराबर’
कांग्रेस महाधिवेशन: नयाँ नेतृत्वका लागि बिहीबार बिहान १० बजेदेखि मतदान
तस्करीमा प्रयोग भएको आशंका : दुई भारतीय सवारीसाधन सशस्त्रको नियन्त्रणमा
जेनजी घाइतेलाई यातायातमा आधा भाडा, झापामा व्यवसायी र प्रशासनबीच सहमति
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×