सांकेतिक फोटो ।विराटनगर । विराटनगरमा साबुन राख्ने डब्बाभित्र लुकाएर राखिएको १०१ ग्रामभन्दा बढी लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) प्रहरीले बरामद गरेको छ । भारतीय नागरिकसहित तीन जना युवक पक्राउ परेका छन् ।
विराटनगर महानगरपालिका–११ मा भाडाको कोठामा बस्दै आएका उनीहरूलाई लागुऔषध नियन्त्रण ब्यूरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले बुधबार दिउँसो पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको अररिया जिल्ला नरपतगञ्जका २३ वर्षीय रिजवान अहमद इदरीशी, सुनसरीको देवानगञ्ज गाउँपालिका–२ का २३ वर्षीय आरविन्द यादव र २३ वर्षीय अनिल यादव छन् ।
गोप्य सूचनाका आधारमा प्रहरी टोली उनीहरू बस्दै आएको कोठामा पुगेको थियो । विराटनगर–११ का वेचन मेहताको घरमा भाडामा लिइएको उक्त कोठामा खानतलासी गर्दा साबुन राख्ने डब्बाभित्र लुकाइएको अवस्थामा १०१ ग्राम ५३० मिलिग्राम खैरो हेरोइन फेला परेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए ।
उनका अनुसार पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखेर लागुऔषधको स्रोत, उनीहरूको भूमिकासँगै सम्भावित कारोबार सञ्जालका बारेमा अनुसन्धान अघि बढाइएको छ । पक्राउ परेकाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दामा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार १०० ग्रामभन्दा बढी खैरो हेरोइनको कारोबार पुष्टि भएमा प्रचलित कानुनअनुसार १५ देखि २० वर्षसम्म कैद र ५ लाखदेखि १५ लाख रुपैयाँसम्म जरिबाना हुन सक्ने व्यवस्था छ । पक्राउ परेका भारतीय नागरिक इदरीशीसहित तीनै जनाबीचको सम्बन्ध, हेरोइन कहाँबाट ल्याइएको थियो र यसको गन्तव्य कहाँ थियो भन्ने विषयमा प्रहरीले खोजी गरिरहेको छ ।



















